२०८१ पुष २९ , सोमवार

सेयर र घरजग्गा कर्जालाई सहज बनाउन राष्ट्र बैंकको बोर्डलाई अर्थमन्त्रीको निर्देशन

Prakash S Mahat

सुनाखरी न्युज/ काठमाडौं ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रबैंकको सम्पूर्ण सञ्चालक समितिसँग बैठक गरेका छन् । चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने अघिल्लो दिन  विहीवार साँझ उनले गभर्नर महाप्रसाद अधिकारीलगायत सम्पूर्ण सञ्चालक समितिलाई अर्थ मन्त्रालयमा बोलाएर मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत अर्थतन्त्र चलायमान हुने व्यवस्थाहरु गर्न निर्देशन दिएका हुन् ।

‘अहिले अर्थतन्त्र समस्यामा छ । मौद्रिक नीतिमार्फत त्यसमा सुधार गर्न सकिन्छ । त्यसो हुँदा ऋणको पुनर्संरचना तथा पुनर्तालिकीकरण, सेयर तथा घरजग्गाको ऋणलाई सहज हुने किसिमको व्यवस्था गर्न भनेको छु,’ अर्थमन्त्री डा. महतले भने ।

राष्ट्रबैंकको बोर्डमा मन्त्रालयको प्रतिनिधिका रुपमा अर्थसचिव हुने भए पनि मन्त्रालयबाट दिएको सन्देशबारे सबै बोर्ड सदस्यमा समान बुझाइ होस् भन्ने उद्देश्यले उनीहरु सबैलाई एकै ठाउँमा राखेर छलफल गरेको उनले बताए ।

अहिले सेयर धितो कर्जामा लगाइएको १५ तथा २० करोड रुपैयाँको सीमा हटाउन तथा जुनसुकै आकारको ऋणमा पनि १०० प्रतिशत मात्रै जोखिम भार राख्न अनुरोध गरेको उनले जानकारी दिए ।

 

त्यस्तै घरजग्गासम्बन्धी ऋणमा पनि जुनसुकै ऋणमा जोखिम भार शतप्रतिशत मात्रैकायम गराउन उनले निर्देशन दिएका छन् ।