२०८१ मंसिर ४ , मंगलबार

एमालेको सङ्कल्प यात्रा पोखरामा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
नेकपा (एमाले)ले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आज पोखरा आइपुगेको छ ।

एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा महानगरपालिका–७ नुवारथोकस्थित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको शालिकमा माल्र्यापण गरेर सो अभियानको पोखरामा सुरु गर्नुभएको हो ।यात्रामा रहेको टोलीलाई पोखराको जिरोकिमी र अमरसिंहचोकमा भव्य स्वागत गरिएको छ । सडकको किनारमा उभिएर पार्टीका नेता तथा कार्यकर्ताले यात्रामा रहेको टोलीलाई फूलमालाले स्वागत गरेका छन् ।

अमरसिंहचोकमा गण्डकी प्रदशेसभा सदस्य बेदबहादुर गुरुङले अध्यक्ष ओलीलाई अल्लोको धागोबाट बनेको भाङ्ग्रा लगाएर स्वागत गर्नुभयो । पार्टी अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतका नेताहरु सङ्कल्प यात्रामा हुनुहुन्छ ।पोखराको तालचोक र रुपा गाउँपालिकाको तालबेंसीमा स्वागत कार्यक्रममा सहभागी हुने टोली दिउँसो रुपा गाउँपालिकाको पिपले बजार हुँदै लमजुङ प्रस्थान गर्ने एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिनुभयो ।

एमाले अध्यक्ष ओलीसहितको सङ्कल्प यात्राको टोलीलाई बिहीबार साँझ कास्की र पर्वतको सीमास्थल नयाँ पुलमा बाजागाजासहित स्वागत गरिएको थियो । कास्की प्रवेश गरेको सो टोलीलाई मध्यपहाडी राजमार्गन्तर्गत अन्नपूर्ण गाउँपालिकाको नागडाँडामा स्वागत तथा हेम्जामा स्वागतसहित सभा गरिएको हो ।सो सभामा अध्यक्ष ओलीले पार्टीले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ लोकतान्त्रिक आचरण र प्रणालीलाई बलियो बनाउनका लागि भएको बताउनुभएको थियो । उहाँले राष्ट्रियता, सुशासन र समृद्धिका लागि अभियान प्रभावकारी भएको बताउनुभयो। रासस