२०८१ पुष १२ , शुक्रवार

तीन सय शय्याभन्दा बढी भएका अस्पताललाई एमबीबीएस पढाउन दिने तयारी भइरहेको छः स्वास्थ्य मन्त्री बस्नेत

Health Min

सुनाखरी न्युज/ काठमाडौं ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकार चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा लागेको बताएका छन् । पत्रकारसँग कुराकानी गर्दै सोमबार  उनले ऐन संशोधनका विषयमा मन्त्रिपरिषद्मा छलफल भइरहेको जानकारी दिए ।

चिकित्सा शिक्षा ऐनको विद्यमान व्यवस्थाले नेपालमा स्वास्थ्य शिक्षा जुन ढंगले अघि बढ्नुपर्ने हो त्यसरी बढ्न नसकेको मन्त्री बस्नेतको भनाइ थियो । ‘संशोधनका विषयमा प्रधानमन्त्री तयार हुनुहुन्छ । क्याबिनेटमा समेत अब यस विषयमा छलफल हुन्छ,’ उनले भने । ऐन संशोधनका विषयमा दुई पटक बैठक बसिसकेको पनि उनले बताए ।

चिकित्सा शिक्षा ऐनका कारण देशमा आगामी पाँच वर्षमा चिकित्सक तथा स्वास्थ्य प्राविधिकको समस्या हुने देखिएकाले संशोधन गर्न लागिएको मन्त्री बस्नेतले दाबी गरे । चिकित्सा क्षेत्रमा २२ वर्षअघिभन्दा कम दरबन्दीका भरमा काम भइरहेको उल्लेख गर्दै उनले यसलाई थप गरेर अघि बढ्ने पनि बताए ।

 

सरकारले अहिले एक सयदेखि तीन सय शय्या भएका अस्पताललाई नर्सिङ र प्यारामेडिक्स पढाउन दिने तथा तीन सय शय्याभन्दा बढी भएका अस्पताललाई एमबीबीएस पढाउन दिने गरी खुकुलो पार्न लागेको मन्त्री बस्नेतले जानकारी दिए । सुधार गर्नुपर्ने ठाउँमा सुधार गरेर स्वास्थ्य शिक्षा सञ्चालन गरिने उनले बताए ।

फरक प्रसंगमा मन्त्री बस्नेतले सूर्तीजन्य पदार्थमा लगाइँदै आइएको कर अब स्वास्थ्य मन्त्रालय मातहतमा ल्याउने गरी काम भइरहेको जानकारी दिए । उनले त्यसबाट उठेको रकमले अस्पतालको गुणस्तर वृद्धि र कर्मचारी व्यवस्थापन गरिने बताए ।