२०८१ पुष २६ , शुक्रवार

सेप्टेम्बरदेखि अहिलेसम्म ११ सय बङ्गलादेशी विपक्षी कार्यकर्ता दोषी ठहर

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
बङ्गलादेशी अदालतहरूले बुधबार सेप्टेम्बरदेखि अहिलेसम्म एक हजार एक सयभन्दा बढी विपक्षी अधिकारी र कार्यकर्तालाई दोषी ठहर गरेको वकिलहरूले बिहीबार बताएका छन् ।

विपक्षी दलहरूका अनुसार यस वर्ष व्यापक विरोध प्रदर्शनहरूपछि प्रधानमन्त्री शेख हसिनामाथि कठोर शासन गरेको आरोप लगाउँदै उहाँको राजीनामा माग गरिएको थियो । त्यसपछि विपक्षी दलका हजारौँ मानिसलाई पक्राउ गरिएको छ ।बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) ले उसका सदस्यहरूविरुद्धका मुद्दाहरू राजनीतिकरूपमा प्रेरित रहेको भन्दै प्रधानमन्त्रीको करिब १५ वर्षको शासनको सम्भावित विकल्पहरूलाई दबाउने उद्देश्य रहेको बताएको छ ।

पार्टीका कानूनी मामिला प्रमुख कैसर कमालले एएफपीसँग भन्नुभयो, “पछिल्लो तीन महिनामा कम्तीमा एक हजार ९३ बिएनपी कार्यकर्ता र अन्य विपक्षी दलका कयौँ दर्जन कार्यकर्ताहरूलाई ६९ मुद्दामा दोषी ठहर गरिएको छ ।”धेरै प्रतिवादीहरूका वकिल एहसानुर रहमानका अनुसार उक्त सङ्ख्यामध्ये बुधबार ढाका अदालतहरूमा बिएनपीका एक सय २७ कार्यकर्तालाई तीन वर्षसम्मको कारागार सजाय सुनाइएको छ । केही प्रतिवादीहरूलाई सन् २०१४ र सन् २०१८ मा बङ्गलादेशमा भएका निर्वाचनका क्रममा हिंसा गरेको दोषी पाइएको छ ।

मुख्य अभियोजक अब्दुल्ला अबुले पछिल्लो परीक्षणहरूको सञ्चालनको बचाउ गर्नुभयो । “यी मुद्दा राजनीतिकरूपमा प्रेरित छैनन्, लामो समयदेखिको मुद्दालाई कम गर्ने प्रयासमा यी फैसला गरिएका हुन्”, उहाँले भन्नुभयो, ।

यद्यपि कमालले बिएनपी कार्यकर्ताहरू ‘राजनीतिकरूपमा प्रेरित र झुटो, मनगढन्त तथा आधारहीन’ मुद्दाको सिकार भएको बताउनुभयो । “यो बिल्कुल आपराधिक मुद्दा होइन, यो राजनीतिक मुद्दा हो”, उहाँले भन्नुभयो, “राजनीतिक उद्देश्यले विपक्षी राजनीतिक कार्यकर्ताहरूविरुद्ध फैसला सुनाउन कार्यपालिकाले तल्लो अदालतलाई निर्देशन दिने काम गरिरहेको छ ।”  रासस/एएफपी