२०८१ मंसिर ११ , मंगलबार

४५ लाख धरौटी राखेर छुटे खाण

Khad

सुनाखरी न्युज/ काठमाडौं ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाण धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंमा ३० लाख र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा १५ लाख रुपैयाँ धरौटी राखेर उनी केन्द्रीय कारागारबाट मुक्त भएका हुन् । अख्तियारले भने खाणलाई साधारण तारिखमा राखेको हो ।

 

पाटन उच्च अदालतले जिल्लाको आदेश उल्ट्याएर धरौटीमा छाड्ने आदेश दिएको हो । उच्च अदालत पाटनले खाणलाई ३० लाख रुपैयाँ धरौटी लिएर छोड्न बिहीबार आदेश दिएको थियो । सोही आदेशबमोजिम धरौटी बराबरको बैंक जमानत राखेर शुक्रबार कारागार सुन्धाराबाट रिहा भएका हुन् । अदालतबाट रिहा भएलगत्तै खाणलाई केन्द्रीय कारागारबाट खटिएको प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, ललितपुर र अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा उपस्थित गराएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा दायरबाहेक थप २ वटा कसुरमा शरणार्थी प्रकरणका अभियुक्तमाथि अनुसन्धान गर्नुपर्ने निर्णय गरेको थियो । सोही कारण खाणलाई अदालतमा धरौटी बुझाएर रिहा भएपछि विभाग र अख्तियारको जिम्मा लगाइएको थियो । विभागले १५ लाख धरौटी र अख्तियारले साधारण तारिखमा राखेपछि उनी कैदमुक्त भएका हुन् ।