२०८१ पुष २८ , आइतवार

संसद् सचिव पाण्डेयले लिएका थिए दोस्रो नागरिकता

Padma Prasad Pandey

सुनाखरी न्युज/ पाल्पारकाठमाडौं ।
संघीय संसद्को महासचिवमा सिफारिस प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेयले ६ वर्ष उमेर घटाएर दोस्रो नागरिकता लिई १० वर्ष आफूसँगै राखेको पाइएको छ । पाण्डेयले सुरुमा २०२६ असोज १५ गते जन्ममिति भएको नागरिकता लिएका थिए । त्यो हराएको भन्दै २०६६ भदौ ८ मा ६ वर्ष जन्ममिति घटाएर दोस्रो नागरिकता लिए । दोस्रो पटक लिएको नागरिकतामा जन्ममिति २०३२ पुस २६ गते उल्लेख छ ।

पाण्डेयको स्थायी बसोबास पाल्पा हो । उनले जिल्ला प्रशासन कार्यालय पाल्पाबाट २०४६ असार २८ मा पहिलो नागरिकता लिएका थिए, जसको प्रमाणपत्र नम्बर ३५ रहेको छ । पाल्पा प्रशासनबाट प्राप्त पाण्डेयको नागरिकतासम्बन्धी विवरणमा ६ वर्ष उमेर घटाएर लिएको नागरिकता १० वर्षपछि २०७६ भदौ २३ मा रद्द गरिएको थियो ।

१० वर्षपछि उनले पुरानै नागरिकता कायम गराएको जिप्रका पाल्पाको ‘टिप्पणी र आदेश’ मा प्रस्ट उल्लेख छ । नागरिकता रद्दको टिप्पणी र आदेशमा पाण्डेयका दुवै नागरिकतामा ‘भूलवश विवरण फरक परेको’ उल्लेख छ । पहिलो र दोस्रो नागरिकताका सक्कल प्रति जिल्ला प्रशासन कार्यालयमा पेस गरेपछि दोस्रो पटक लिएको नागरिकता रद्द गरिएको थियो ।

जन्ममिति ६ वर्ष घटाएर लिएको नागरिकताबाट १० वर्षसम्म पाण्डेयले के कस्तो ठाउँमा प्रयोग गरेका छन् भन्ने खुल्न सकेको छैन । पाण्डेयको नागरिकता रद्द गर्ने क्रममा विवादसमेत भएको जिप्रकाका अधिकारीले बताएका छन् । स्रोतका अनुसार पाल्पाका तत्कालीन प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले पाण्डेयले ६ वर्ष जन्ममिति घटाएर लिएको नागरिकता रद्द गर्न मानेका थिएनन् । २०७६ वैशाख १२ मा पाल्पाको प्रमुख जिल्ला अधिकारी भएका यादवलाई चार महिनामै २०७६ भदौ ११ मा सरुवा गरियो । त्यसपछि कायममुकायम प्रजिअ भएर उमेशकुमार ढकाल आए । ढकालले भने जिल्ला प्रशासनको नेतृत्व सम्हालेको दुई साता नबित्दै पाण्डेयको नागरिकता रद्द गरिदिए ।

२०७६ भदौ १२ मा हाजिर भएका ढकालले २०७६ भदौ २३ गते टिप्पणी र आदेशमा सही गरेर नागरिकता रद्द गरिदिएका हुन् । ‘अह्राएको काम नगर्दा यादवलाई जिल्लामा बस्नसमेत दिइएन । सोही काम गर्नका लागि ढकाललाई प्रजिअ बनाएर पठाइयो,’ जिप्रकामा कार्यरत एक अधिकारीले उक्त प्रकरणबारे भने ।

आफ्नो कार्यकालभन्दा पहिल्यै नागरिकता रद्दका लागि पाण्डेयको निवेदन आएको तत्कालीन प्रजिअ यादवले बताए । आफू हुँदा निवेदन अनुसन्धानकै क्रममा रहेको उनको भनाइ छ । ‘उक्त विषयमा सबै जानकारी अहिले मसँग छैन,’ हाल गृह मन्त्रालयका सहसचिव यादवले भने, ‘सुरुको नागरिकता र दोस्रो पटक लिएको नागरिकताको विवरण फरक–फरक पाइएमा समान विवरण भएको नागरिकताको जसरी सहजै बदर हुँदैन । विवरण फरक भएको नागरिकताको विषयलाई सिधै बदर गर्ने भन्ने हुँदैन, त्यसका प्रक्रिया हुन्छन् ।’

कानुनतः दुई वटा नागरिकता बनाउन नपाइने र कसैले बनाए कानुनअनुसार दण्डित हुने व्यवस्था रहेको पूर्वसचिव जयमुकुन्द खनाल बताउँछन् । ‘कसैले पनि दुई वटा नागरिकता बनाउन पाउँदैन । यस्तो भएको पाइए पहिले जारी भएको नागरिकता कायम हुन्छ र झुक्यानमा पारेर दोहोरो नागरिकता लिएको कसुरमा सम्बन्धित व्यक्ति कारबाहीको भागीदार हुन्छ,’ उनले भने, ‘नागरिकता अभिलेख प्रणाली व्यवस्थित नहुँदा सम्बन्धित व्यक्तिले आफूअनुकूल जन्ममिति समेटेर एकभन्दा बढी नागरिकता लिने प्रवृत्ति बढेको देखिन्छ । यसलाई रोक्न अभिलेख व्यवस्थित हुनुपर्छ ।’ नागरिकता ऐन २०६३ को दफा १३ मा दोहोरो नागरिकताको प्रमाणपत्र लिन नहुने उल्लेख छ । यो प्रावधानविपरीत दुई थरी नागरिकता लिएमा बिगो कैद र जरिवानाको भागीदार हुने पूर्वसचिव खनालले बताए ।

पाण्डेयले लिएको दुई वटै नागरिकताको नम्बर फरक छ । जिल्ला प्रशासन कार्यालयले दस्ताबेज नष्ट भएको भने पनि पाण्डेयले आफ्नो पुरानो नागरिकताको नम्बर पेस गरेका थिएनन् । २०४६ असार २८ मा उनको नागरिकता नम्बर ३५ थियो भने २०६६ भदौ ८ मा लिएको नागरिकताको नम्बर ३९१०११र१५५ छ । दोस्रो नागरिकता खारेज गरेपछि सुरुको नागरिकता पनि पाल्पा जिल्ला प्रशासन कार्यालयलाई नै बुझाएर उनले नयाँ नागरिकता लिएका थिए ।

उनले संघीय संसद् सचिवालयमा बुझाएको प्रमाणपत्रको फोटोकपीमा नागरिकता जारी मिति २०७६ मंसिर २२ गते उल्लेख छ । उनले सट्टा नागरिकता लिएको बताएका छन्, जसको नम्बर ३९–०१–७६–०५५१५ रहेको छ । हाल उनीसँग यही नम्बरको नागरिकता छ, जसको पछाडिपट्टि पुछारमा लेखिएको छ– ‘२०६२र१०र१८ को घटनाबाट यस कार्यालयको सबै अभिलेख जली नष्ट भएकाले पुरानो ना।प्र।नं। ३५ को सट्टा यो ना।प्र।नं। जारी गरिएको ।’

पाण्डेयले आफूले जन्ममिति फरक परेको नागरिकता लिएको स्वीकार गरेका छन् । जन्ममिति घटाइएको नागरिकता कहींकतै प्रयोग नगरेको उनको दाबी छ । ‘नागरिकता हरायो, प्रतिलिपि बनाउँदा जन्ममिति फरक पर्‍यो । त्यसपछि जिल्लामा बुझाएर पुरानै जन्ममितिअनुसार नयाँ नागरिकता लिएको हुँ,’ उनले भने, ‘नागरिकतामा जन्ममिति फरक परेर केही हुने थिएन । सर्टिफिकेट ९शैक्षिक प्रमाणपत्र० र नागरिकतामा जुन मिति चाँडै आउँछ, त्यसैअनुसार रिटायर्ड हुने हो ।’ सरकारी सेवामा प्रवेश गर्दा र अन्य प्रयोजनका लागि २०२६ असोज १५ जन्ममिति भएकै नागरिकता प्रयोग गरेको उनको भनाइ छ ।

उमेर घटाएर लिएको नागरिकता आफूसँग राखेको झन्डै १० वर्षपछि २०७५ फागुन ३० मा उनले उमेर घटाएर लिएको नागरिकता रद्द गरी पुरानै नागरिकता पाऊँ भनेर निवेदन दिएका थिए । त्यतिखेर पाल्पाका प्रजिअ मनोहरप्रसाद खनाल थिए । जिप्रकाको रेकर्डअनुसार निवेदन दिएको ६ महिनापछि २०७६ भदौ २३ मा पुरानो नागरिकता प्रमाणपत्र रद्द गरेर नयाँ कायम गरेको भेटिएको छ ।

संघीय संसद्को महासिचवबाट भरतराज गौतमले राजीनामा दिएपछि प्रतिनिधिसभा सचिवमा बहाल पाण्डेयलाई सिफारिस गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरेको सिफारिसअनुसार पाण्डेयलाई महासचिव नियुक्त गरेका छैनन् ।
(आजको कान्तिपुरवाट साभार)