२०८१ पुष २७ , शनिवार

ट्रक चालकहरूको सीमा विरोधका विषयमा युक्रेनी र पोलिस मन्त्रीबीच भेटघाट

sunakhari2502

सुनाखरी न्युज / काठमाडौं ।
युक्रेनका पूर्वाधारमन्त्री अलेक्जेन्डर कुब्राकोभले पोल्यान्डमा आफ्ना नवनियुक्त समकक्षीसँग पोलिस ट्रक चालकहरूले युक्रेन–पोल्यान्ड सीमामा गरेको कार्गो अवरोधबारे छलफल गर्न भेट गरेको बिहीबार बताउनुभएको छ ।

ट्रक चालकहरूले युक्रेनी प्रतिस्पर्धीहरूका लागि युरोपेली युनियन (इयु) मा प्रवेशमाथि पुनः प्रतिबन्ध लागु गर्नुपर्ने मागसहित एक महिनाभन्दा लामो समयदेखि सीमामा अवरोध गरिरहेका छन् ।“हामीले वार्सामा पोल्यान्डका नवनियुक्त पूर्वाधारमन्त्री डेरियस क्लिमजाकसँग पहिलो भेट गरेका थियौँ”, युक्रेनी मन्त्रालयले विज्ञप्तिमा भनेको छ, “हामीले यातायात क्षेत्रका धेरै विष्यामा छलफल गर्यौँ तर मुख्य विषय सीमा खोल्नु थियो ।”

मन्त्री कुब्राकोभका अनुसार बैठकले दुवै पक्षलाई आफ्नो स्थिति स्पष्ट पार्न अनुमति दिएको थियो र युक्रेनी पक्षले पोलिस तर्कहरूलाई कमजोर बनाउने तथ्याङ्क प्रस्तुत गरेको थियो । “ट्राफिक तथा हाम्रा र पोलिस सवारी साधनहरूले राखेका बजार हिस्साको आँकडा र डेटाको साझा बुझाइमा आउनु महत्त्वपूर्ण छ”, उहाँले भन्नुभयो ।

विशेषगरी करिब दुई वर्षअघि रुसी आक्रमणपछि युक्रेन उसको निर्यात र आयातका लागि इयुको सदस्य पोल्यान्डसँग सडक यातायातमाथि अत्यन्त धेरै निर्भर छ । रुसी आक्रमणले कृष्ण सागरमा जहाज ढुवानीलाई असर गरेको छ ।

पोल्यान्डका इयु समर्थक नयाँ प्रधानमन्त्री डोनाल्ड टस्कले विवाद समाधान गर्ने प्रतिज्ञा गर्दै अघिल्लो सरकारमाथि आन्दोलनकारी ट्रक चालकहरूलाई छाडेको आरोप लगाउनुभएको छ ।  रासस/एएफपी