२०८१ कार्तिक १७ , शनिवार

आप्रवासन वार्ताका लागि अमेरिकी उच्चस्तरीय टोली मेक्सिको जाने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
आप्रवासनसम्बन्धी बिषयमा छलफल गर्न अमेरिकी उच्चस्तरीय प्रतिनिधिमण्डल छिट्टै मेक्सिकोतर्फ प्रस्थान गर्ने ह्वाइट हाउसले शुक्रबार जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले आप्रवासीको सङ्ख्यालाई व्यवस्थित गर्न जारी प्रयासका बारेमा छलफल गर्नुका साथै कार्यान्वयनका उपायहरूको शीघ्र कार्यान्वयनका लागि पनि आग्रह गरेका छन् ।अमेरिकाका दुई सीमावर्ती राज्य टेक्सास र एरिजोनाका अधिकारीहरूले हालैका दिनहरूमा गैरकानुनी क्रसिङहरू कम गर्ने उद्देश्यले अभूतपूर्व कदम चालेका छन् र सङ्घीय सरकारले निष्क्रियताको आरोप लगाएका छन् ।

बाइडेनले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन, होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेजान्ड्रो मेयरकास र ह्वाइट हाउसका होमल्याण्ड सेक्युरिटी एडभाइजर लिज शेरवुड रान्डेललाई आगामी दिनमा मेक्सिको भ्रमण गर्न आग्रह गरेका छन् ।अमेरिकी सीमा प्रहरीले हालैका हप्ताहरूमा हरेक दिन लगभग १० हजार व्यक्तिहरू सीमा पार गरेको जनाएको छ ।

अक्टोबर २०२२ देखि सेप्टेम्बर २०२३ सम्म, आप्रवासीहरूसँग प्रवेशको आधिकारिक बन्दरगाह र दक्षिणी सीमाको अन्य स्थानहरू पनि समावेश गरी सीमा गस्तीद्वारा अहिलेसम्म कै अत्यधिक सङ्ख्या अर्थात् २४ लाख मुठभेडहरू भएका थिए ।मङ्गलबार अधिकारीहरूले मेक्सिको–टेक्सास सीमामा ईगल पास र एल पासोमा दुई रेल पुल क्रसिङहरू बन्द गरेका थिए ।

यसैबीच, ईगल पास साथै एरिजोना र क्यालिफोर्नियाको प्रवेश बिन्दुमा पनि यस महिनाको सुरुदेखि नै सवारी आगमन स्थगित गरिएको छ ।ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बाइडन र लोपेज ओब्राडोरले प्रवेशका प्रमुख बन्दरगाहहरू पुनः खोल्नका लागि थप कामहरू तत्काल आवश्यक रहेको कुरामा सहमति जनाएका छन् ।

अमेरिकी टोलीले राष्ट्रपति लोपेज ओब्राडोरसँग भेट गरी वर्तमान सीमा चुनौतीलाई सम्बोधन गर्न एकसाथ गर्न सकिने थप कदमबारे छलफल गर्ने बताइएको छ ।युक्रेन र इजरायलका लागि आपतकालीन सहायताको प्याकेज स्वीकृत गर्ने बदलामा बाइडेनको डेमोक्र्याट पार्टीको प्रतिस्पर्धी रिपब्लिकन पार्टीले आप्रवासन नीतिमा ठूलो परिवर्तन गर्न दबाब दिइरहेका बेला वार्ता र भ्रमण हुन लागेको हो ।

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै हिंसाग्रस्त मध्य अमेरिकी मुलुकहरूबाट सीमापार आप्रवासनमा ‘नाटकीय वृद्धि’ भएको बताउनुभएको छ ।किर्बीका अनुसार बाइडेन र ओब्राडोरबीच भएको टेलिफोन वार्तामा हालैका हप्ताहरूमा यहाँ आप्रवासीको सङ्ख्यामा भएको वृद्धिबारे पनि यस्तै चिन्ता व्यक्त गरिएको थियो ।उहाँले भन्नुभयो, “दुई राष्ट्रपतिले मेक्सिकोभित्र के गर्न सकिन्छ भन्ने विषयमा विस्तृत छलफल गरेका छन् ।किर्बीले भन्नुभयो, “रेल लाइन र राजमार्गहरूमा चेकप्वाइन्टहरू बढाउने र मेक्सिकोको दक्षिणी सीमामा सुरक्षा उपस्थिति विस्तार गर्ने विचारहरू छलफलका लागि बिषयका रूपमा समावेश गरिएका छन् ।”  रासस/एएफपी