२०८१ पुष २७ , शनिवार

ख्वाजालाई ब्याटमा शान्ति चिह्न लगाउने अनुमति दिन अस्वीकार

sunakhari2502

सुनाखरी न्युज / काठमाडौँ ।
अस्ट्रेलियाका क्रिकेटर उस्मान ख्वाजालाई पाकिस्तानविरुद्धको बक्सिङ डे टेस्टका लागि उहाँको ब्याट र जुत्तामा शान्ति चिह्न लगाउने अनुमति नदिइएको आइतबार एक रिपोर्टमा बताइएको छ ।

आइतबार मेलबोर्नमा प्रशिक्षणका क्रममा उहाँको ब्याट र जुत्तामा कालो ढुकुर र शब्दहरू शून्य एक ः युडिएचआर लेखिएको स्टिकर देखिएको थियो । उक्त शब्दले मानवअधिकारको विश्वव्यापी घोषणाको एउटा सन्दर्भलाई दर्शाउँछ ।

यस साताको दोस्रो टेस्टमा उपयुक्त हुने सन्देश खोज्नका लागि स्टार ब्याटरले हालैका दिनमा क्रिकेट अस्ट्रेलियासँग धेरै बैठक गर्नुभएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । यद्यपि उहाँको नवीनतम मानवीय सङ्केतलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले अस्वीकार गरेको दि अस्ट्रेलियन र मनबोर्न एज अखबारहरूले बताएका छन् । ख्वाजाको उक्त कदमबारे आइसिसीले तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

पर्थमा भएको पहिलो टेस्टका क्रममा पनि मुस्लिम ख्वाजालाई ‘स्वतन्त्रता मानवअधिकार हो’ र ‘सबैको जीवन समान हुन्छ’ भन्ने नारा लेखिएको जुत्ता लगाउन रोक लगाइएको थियो । छत्तिस वर्षीय ख्वाजाले गाजाबासीका लागि आफ्नो समर्थन देखाउन चाहनुभएको थियो ।यद्यपि उहाँले राजनीति, धर्म वा नस्लसँग सम्बन्धित सन्देशमा आइसिसीको नियम उल्लङ्घन गर्नुभएको उहाँलाई भनिएको छ । खेलका क्रममा कालो पट्टी लगाएपछि आइसिसीले उहाँलाई हप्काएको थियो तर पछि उहाँले यो ‘व्यक्तिगत शोक’ थियो भन्दै आइसिसीको निर्णयको विरोध गर्ने वाचा गर्नुभएको थियो ।

इजराइल–हमास युद्धमा आफूमाथि प्रभाव परेको ख्वाजाले शुक्रबार बताउनुभएको थियो । उहाँले युद्धमा कति धेरै बालबालिका मारिएका छन् भन्ने देखेर आफू निराश भएको बताउनुभएको थियो । “मेरो इन्स्टाग्राममा निर्दोष बालबालिका मरेको भिडियो देख्दा मलाई ठूलो चोट पुर्यायो”, उहाँले भन्नुभयो, “मसँग पूरै लगनका साथ, अत्यन्त दृढताका साथ महसुस गर्ने कुरामा प्रकाश पार्ने प्रयासबाहेक अरु कुनै एजेन्डा छैनन् ।” रासस/एएफपी