सुनाखरी न्युज/ काठमाडौं।
सुरुङ निर्माणको काम गर्न सिद्धार्थ राजमार्ग हरेक दिन ६ घण्टा बन्द हुने भएको छ।सडक राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुनेछ भने अत्यावश्यक सवारीसाधनलाई कुनै रोक नलगाइएको प्रशासनले जनाएको छ । सुरुङ निमार्ण थालेको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सुरुङ निमार्ण कार्य गर्दा यातायात सञ्चालन गरी काम गर्दा जोखिम हुने भएकाले रातिको समयमा सडक बन्द गरेर काम गर्न लागेको हो ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेका अनुसार पुस १६ गतेदेखि दैनिक ६ घण्टा राजमार्ग बन्द हुनेछ । सुरुङ मार्गको दक्षिण र उत्तरतर्फको पोर्टल तथा बाइपास टेल र स्लोप क्षेत्रको काम गर्दा राजमार्गको सिद्धबाबा खण्ड दैनिक ६ घण्टाका लागि बन्द गरिन लागिएको हो। सिद्धबाबामा सुरुङ मार्ग निर्माण कार्यको पूर्व तयारीको काम रामापिथेकस पार्क र पाल्पातर्फको माथिल्लो सिद्धबाबा क्षेत्रमा डाइभर्सन निर्माणको काम भइरहेकाले सय दिनसम्म सडक बन्द गरेर काम गर्न दिइने प्रजिअ काफ्लेले बताए ।
आकस्मिक रुपमा यात्रा गर्नुपर्ने र हलुका सवारी साधनहरू दोभानदेखि नुवाकोट हुँदै बेलबास जान सकिन्छ ।पहिरोका कारण सधैंजसो अवरुद्ध हुँदै आएको सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डमा सुरुङ निर्माण थालिएको छ। चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङ मार्गको ठेक्का पाएर १ वर्षअघिदेखि काम सुरु गरेको छ।