२०८१ मंसिर ४ , मंगलबार

परम्परागत मौलिक संस्कृतिको जगेर्ना साझा दायित्व : प्रधानमन्त्री

PM Dahal

सुनाखरी न्युज/ काठमाडौं।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्नु सम्पूर्ण नेपालीको साझा दायित्व भएको बताउनुभएको छ । २०औँ राष्ट्रिय ज्यापु दिवसका अवसरमा ज्यापु संस्कृति विकास कोषले आज वसन्तपुरमा आयोजना गरेको समारोहमा उहाँले विभिन्न जातजाति, भाषाभाषी र सांस्कृतिक समूहको परम्परागत मौलिक संस्कृति नै नेपालीको पहिचान र गौरव भएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले नेपालका चाडबाड, जात्रापर्व, सांस्कृतिक सम्पदा र गतिविधि नेपालका अमूल्य निधि भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल विभिन्न जातजाति, भाषाभाषी, धर्म र सांस्कृतिक समूहको साझा देश हो । भौगोलिक रूपमा सानो भए पनि यहाँको जैविक विविधता, मनोरम प्राकृतिक सम्पदा र सामाजिक बनोट विश्वमै नमूना रहिआएको छ ।”

नेपाल जातीय, भाषिक, धार्मिक, सांस्कृतिक विविधताले सम्पन्न र हरेक समुदायले संस्कृतिलाई जीवनको अभिन्न अङ्गका रुपमा लिएको प्रधानमन्त्री दाहालले बताउनुभयो । “राष्ट्रिय ज्यापु दिवसको माध्यमबाट काठमाडौँ उपत्यकाभित्रका र बाहिर रहेका ज्यापुबीच मात्र नभई विभिन्न धर्म, संस्कृति, समुदाय र क्षेत्रसँग आबद्ध नागरिकबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दछु”, उहाँले भन्नुभयो ।

सांस्कृतिक सम्पदाको धनी नेपालमा धार्मिक र सांस्कृतिक रूपमा परम्परादेखि नै विभिन्न चाडपर्व, जात्रा एवं संस्कार चल्दै आएकाले यो नेपाली समाजको अभिन्न अङ्ग भइसकेको विचार व्यक्त गर्नुभयो । ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको संरक्षण गरी आफ्नो परम्परालाई जीवन्त राख्न र विकासको नयाँ अवधारणासँग अनुकूलित तुल्याउनु राष्ट्रको दायित्व भएको उल्लेख गर्दै उहाँले यसै कुरालाई मनन गरी सरकार संस्कृतिको संरक्षण र संवद्र्धन गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले काठमाडौँ महानगरपालिकाभित्रका ज्यापुले विभिन्न बाधा अड्चनका बाबजुद पनि परम्परागत मौलिक संस्कृतिको जगेर्नाको प्रयासलाई सरकारले कदर गर्दै आएको बताउनुभयो । उहाँले सरकारको सानो सहयोगबाट सुरु भएको ज्यापु संस्कृति विकास कोषले नेपाली समुदायसमेतको सहयोग र सद्भाव लिई काठमाडौँ उपत्यकाभित्रका ज्यापुलाई मात्र नभएर मोफसलमा बसोबास गर्दैआएका ज्यापु समेटेर बिसौँ राष्ट्रिय ज्यापु दिवस मनाएकामा बधाई ज्ञापन गर्नुहुँदै आगामी दिनमा समेत सरकारका तर्फबाट साथ र सहयोग रहने विश्वास दिलाउनुभयो । सरकारका तर्फबाट ज्यापु संस्कृति विकास कोषलाई सहयोग गर्ने उहाँले प्रतिबद्धता दिलाउनुुभयो ।

प्रधानमन्त्री दाहालले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा नेपाल संवत््लाई राष्ट्रिय संवत््का रूपमा मनाउने निर्णय गरेको र अहिले तेस्रो कार्यकालमा नेपाल संवत््लाई सरकारी लिखतमा अनिवार्य गर्ने निर्णय गरी उक्त निर्णयको कार्यान्वयनसमेत भइरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाली समाजको विशेषता र सामाजिक बनोटअनुसार सबै वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको पहिचान तथा अधिकारका निम्ति मैले लगातार सङ्घर्ष गर्दै आएको छु । आगामी दिनमा समेत मेरो र नेपाल सरकारका तर्फबाट यहाँहरूलाई साथ तथा सहयोग रहने विश्वास दिलाउन चाहन्छु ।”

राष्ट्रिय ज्यापु दिवसले नयाँ जोस, उमङ्ग, उत्साहसहित ज्यापु समुदायमा मात्र नभई समस्त जनसमुदायमा खुशीको सञ्चार गर्दै राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस् भन्ने उहाँले शुभकामना दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेवारी भाषा, सम्पदा र संस्कृतिको संरक्षण प्रवद्र्धनमा सबै एकजुट भएर लाग्नुपर्ने खाँचो औँल्याउनुभयो । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले ज्यापु समुदायको संरक्षण, पुरातात्विक सम्पदाको जगेर्ना गर्ने कार्यमा महानगरले विशेष चासो दिएको उल्लेख गर्नुभयो ।

कोषका अध्यक्ष मङ्गलकृष्ण सिंह र राष्ट्रिय ज्यापु दिवस समारोहका संयोजक धनबहादुर महर्जनले ज्यापु संस्कृतिलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन तथा परम्परागत गुठी खलहरुको संरक्षण गर्ने कार्यमा समन्वयका साथ अघि बढेको बताउनुभयो । सो अवसरमा नेपाल संवत््लाई राष्ट्रिय संवत््का रुपमा घोषण गरी सम्पूर्ण सरकारी दस्तावेजमा नेपाल संवत्् उल्लेख गर्ने निर्णय गरेकामा प्रधानमन्त्री दाहाललाई कोषले दोसल्ला र कदरपत्रसहित सम्मान गरेको थियो ।

राससका नायब महाप्रबन्धक शाक्य सम्मानित

राष्ट्रिय ज्यापु दिवसका अवसरमा राससका नायब महाप्रबन्धक राजु शाक्य सम्मानित हुनुभएको छ । कोषले ज्यापु समुदायको प्रवद्र्धनमा सञ्चारको क्षेत्रबाट उल्लेखनीय योगदान गरेको भन्दै उहाँलाई सम्मान गरेको हो ।तीन दशकदेखि पत्रकारितामा सक्रिय शाक्य हाल राससको नायब महाप्रबन्धक हुनुहुन्छ । कोषले नेवारी भाषा र ज्यापु संस्कृतिको प्रवद्र्धनमा योगदान पु¥याउने शाक्यसहित समाजका २७ जनालाई सम्मान गरेको छ ।रासस