२०८१ पुष २७ , शनिवार

निकेल प्लान्टमा भएको विस्फोटपछि इन्डोनेसियाका मजदुरद्वारा प्रदर्शन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
सयौँ इन्डोनेसियाली मजदुरले बुधबार चिनियाँ लगानीको निकेल प्रशोधन प्लान्टको अवस्थाविरुद्ध विरोध प्रदर्शन गरेका छन् । उक्त प्लान्टमा सप्ताहन्तमा भएको विस्फोटमा परी कम्तीमा १८ को मृत्यु र दर्जनौँ घाइते भएका थिए ।

शनिबार बिहान सुलावेसी टापुको मोरोवाली औद्योगिक पार्कमा रहेको पिटी इन्डोनेसिया सिङसान स्टेनलेस स्टिल (आइटिएसएस) को सामित्वमा रहेको प्लान्टमा मजदुरहरूले भट्टी मर्मत गर्ने क्रममा दुर्घटना भएको थियो ।सुलावेसी खनिजले सम्पन्न मुलुकको निकेल उत्पादनको केन्द्र हो । निकेल विद्युतीय सवारीको बेट्री र स्टेनलेस स्टिलमा प्रयोग गरिने धातु हो । यस क्षेत्रमा चीनको बढ्दो लगानीले तलब र कामको अवस्थालाई लिएर अशान्ति निम्त्याएको छ ।

एएफपीले देखेको तस्बिरहरूमा सयौँ मजदुर परिसरबाहिर विरोध प्रदर्शनमा भाग लिइरहेको देखिएको छ । मजदुरहरूको प्रतिनिधित्व गर्ने युनियनहरूले प्रहरीलाई पठाएको पत्रअनुसार प्रदर्शनकारीहरूले व्यवस्थापनसमक्ष २३ वटा मागको सूची दिएका छन् ।मागमा धातु पगाल्ने संयन्त्रलाई राम्रो अवस्थामा राख्नुपर्ने, आपत्कालीन स्थितिको सामना गर्न स्वास्थ्य क्लिनिकको सुधार गर्नुपर्ने र चिनियाँ मजदुरहरूलाई इन्डोनेसियाली भाषा सिक्नका लागि बाध्य बनाउनुपर्ने रहेका छन् ।

विस्फोटमा मारिनेमा आफ्नी श्रीमती र दुई छोराछोरीलाई छाडेर जाने ४० वर्षीय वेल्डर मुहम्मद तौफिक पनि हुनुहुन्थ्यो । तौफिकका काकाका छोरा परलिन हिदायतले भन्नुभयो, “परिवार शोकमा छ, उहाँ कमाउने व्यक्ति हुनुहुन्थ्यो ।” हिदायतका अनुसार आइटिएसएसले दुर्घटनापछि परिवारलाई छ करोड रुपैयाँ (३० हजार छ सय २५ अमेरिकी डलर) क्षतिपूर्ति दिएको छ ।प्रहरीका अनुसार विस्फोटपछि घाइते भएका ३० जनाको अस्पतालमा उपचार भइरहेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले मृतकमध्ये आठ चिनियाँ पनि रहेको जानकारी दिनुभयो । उहाँले उक्त दुर्घटनाबाट बेइजिङ ‘अत्यन्त दुःखी’ रहेको बताउनुभयो ।

उहालै दैनिक प्रेस ब्रिफिङमा भन्नुभयो, “चीनले सधैँ चिनियाँ लगानीको विदेशी परियोजनाहरूमा सुरक्षित उत्पादनलाई उच्च महत्त्व दिएको छ ।” विश्वको सबैभन्दा ठूलो निकेल उत्पादक तथा चीनको सबैभन्दा ठूलो स्टेनलेस स्टिल निर्माता सिङसान होल्डिङ ग्रुपसँग आइटिएसएसमा ठूलो हिस्सा रहेको छ ।  रासस/एएफपी