२०८१ पुष १२ , शुक्रवार

वाईवाईको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई उच्च अदालतको आदेश

Wai Wai Latest

सुनाखरी न्युज
काठमाडौं ।
उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल गरि करेन्ट चाउचाउ उत्पादन र विक्रिवितरण गर्न रोक लगाएको छ । उक्त कम्पनीद्वारा उत्पादीत करेन्ट चाउचाउले विश्वभर ख्यातीप्राप्त एवं नेपालको सर्वाधिक लोकप्रिय वाईवाई चाउचाउको ट्रेडमार्क नक्कलगरि वाईवाई जस्तै देखिने ¥यापर प्रयोग गरि उपभोक्तालाई भ्रममा पार्ने काम गरेको थियो । उच्च अदालत पाटनको संयुक्त इजलासले पुस ११ गते यशोदा फुड्सलाई यस्तो कार्य नगर्न अन्तरकालिन आदेश जारी गरेको हो ।
यशोदा फुड्सले वाईवाईको ट्रेडमार्क नक्कल गरि उपभोक्तालाई भ्रमित पार्ने काम गरेपछि सीजी फुड्स उक्त कार्य तत्काल रोक्ने माग गर्दै अदालत गएको थियो । चार दशक लगाएर वाईवाईले नेपाल र अन्तर्राष्ट्रिय जगतमा समेत आर्जन गरेको ख्यातीलाई दुरूपयोग गर्न र उपभोक्तालाई झुक्याउने नियतले यशोदा फुड्सले वाईवाईको ट्रेडमार्क नक्कल गरेको थियो ।
यशोदा फुड्सले वाईवाईको नक्कल गरि उक्त नक्कललाई आफ्नो ट्रेडमार्कका रुपमा दर्ता गर्न समेत कोशिस गरेको थियो । अदालतले यशोदा फुड्सको उक्त आवेदन नं. ०९८२२२ को दर्ता प्रकृयालाई समेत रोक्न उद्योग विभागलाई आदेश दिएको छ । अदालतको यस आदेशले वाईवाईको नक्कल गरि बजारमा पठाईएका करेन्ट चाउचाउ यशोदा फुड्सले फिर्ता गर्नुपर्ने भएको छ । यदि बजारमा पठाइएका उक्त चाउचाउ यथावत रुपमा विक्रिवितरण गरिएमा अदालतको मानहानी गरेको ठहरिनेछ ।
अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड कायम गरि चौधरी ग्रुपद्वारा उत्पादीत वाईवाई नेपालका साथै विश्वभर छरिएका नेपालीको विगत चार दशकदेखि पहिलो रोजाईमा रहदै आएको छ । यसरी गुणस्तर र स्वादमा अन्तर्राष्ट्रिय ख्याती कमाएको वाईवाईको लोकप्रियताको दुरूपयोग गर्ने नियतका साथ करेन्टले वाईवाईको ट्रेडमार्क नक्कल गरेको थियो । यसबाट उपभोक्ताको अधिकारमाथि समेत प्रत्यक्ष प्रहार गरिएको छ ।