२०८१ पुष २९ , सोमवार

सरकारी ऋणको साँवाब्याज तिर्न पुँजीगत खर्चभन्दा दोब्बर खर्च

mof

सुनाखरी न्युज/ काठमाडौँ ।

पुस मसान्तसम्ममा पुँजीगत खर्च ४९ अर्ब २३ करोड ५८ लाख बराबर छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार  यही अवधिमा सरकारी ऋणको साँवाब्याज तिर्न भने  एक खर्ब १६ अर्ब ५८ करोड पाँच लाख बराबर खर्च भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्कमा देखिन्छ ।

चालु आर्थिक वर्ष २०८०-८१ को सुरुआती छ महिना अवधिमा मात्र पुँजी निर्माण अर्थात् विकास निर्माणका काममा सरकारले खर्च गरेको खर्चभन्दा सार्वजनिक ऋणको साँवाब्याज तिर्न भएको खर्च  ६७ अर्ब ३४ करोड ४७ लाखले बढी हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्कअनुसार पुस मसान्तसम्ममा आन्तरिक ऋणको साँवा भुक्तानीमा रु ५९ अर्ब ३७ करोड १६ लाख र ब्याज भुक्तानीमा ३४ अर्ब १९ करोड ४८ लाख बराबर खर्च भएको छ । आन्तरिक ऋणको साँवाब्याजमा मात्र खर्च भएको रकम  ९३ अर्ब ५६ करोड ६४ लाख बराबर हो ।

त्यस्तै बाह्य ऋणको साँवाब्याज तिर्न छ महिनामा  २३ अर्ब एक करोड ४१ लाख बराबर भुक्तानी भएको छ । सोमध्ये, बाह्य ऋणको साँवा भुक्तानीमा १८ अर्ब सात करोड ९८ लाख र ब्याज भुक्तानीमा रु चार अर्ब ९३ करोड ४३ लाख बराबर खर्च भएको छ । छ महिना अवधिमा सरकारले रु एक खर्ब ६२ अर्ब ५८ करोड ४९ लाख बराबर ऋण उठाएको छ । सोमध्ये रु एक खर्ब २८ अर्ब ३१ करोड बराबर आन्तरिक र  ३४ अर्ब २७ करोड ४९ लाख बराबर बाह्य ऋण लिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्कबाट देखिन्छ ।

 

गत आवका लागि सरकारले पुँजीगत शीर्षकमा रु तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाख बराबर विनियोजन गरेकामा रु दुई खर्ब ३३ अर्ब ६९ करोड ५९ लाख बराबर खर्च भएको थियो । अधिकांश बाह्य ऋण लामो समयावधिको हुने भएकाले नै साँवाको दायित्व तिर्नुपर्ने अवस्था छैन । तर आन्तरिक ऋण छोटो समयावधिको हुने भएकाले साँवा र ब्याजको दायित्व चाँडै तिर्नुपर्ने हुन्छ ।