सुनाखरी न्युज/ जनकपुर ।
सुरुदेखि नै सहभागी रहेको
जनमत पार्टीले मधेश प्रदेश सरकारबाट आफ्ना दुई मन्त्री फिर्ता बोलाएको छ । पार्टीले जसपा नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।
जनमत पार्टीका प्रदेश सांसद संजय यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई मधेश सरकारबाट बाहिरिएको पत्र बुझाएको जानकारी दिए । मधेश प्रदेश सरकारमा जनमत पार्टीका दुईमन्त्री छन् । शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंह छन् । सरकारमा सहभागी भएदेखि नै जसपा र जनमत पार्टीबीच मतभेद रहेको थियो ।
सप्तरीको राजविराजमा आइतबार कृषि विश्वविद्यालयको भवन शिलान्यासलाई लिएर जसपा–जनमत बीचको टकराव छताछुल्ल भएको थियो । विश्वविद्यालयको भवन शिलान्यासका लागि मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएपछि जनमत विरोध प्रदर्शनमै उत्रिएको थियो ।