२०८१ मंसिर १२ , बुधवार

आज पनि महानगरविरूद्ध व्यवसायीहरुको प्रदर्शन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको कालोपत्र सडकमा सवारी साधन पार्किङ गर्न रोक लगाएपछि न्युरोड क्षेत्रकका व्यवसायीहरू विरोधमा आज पनि उत्रिएका छन्।

महानगरले मंगलबारदेखि न्युरोड क्षेत्रमा सवारी साधन पार्किङ गर्न रोकेको थियो। महानगरले न्युरोड क्षेत्रका सडकमा ‘नो पार्किङ’ को संकेत चिन्हसमेत राखेको छ।

महानगरले न्युरोड जानुपर्ने सवारी धनीलाई काठमाडौं टावरमा नि:शुल्क सवारी साधन पार्किङको सुविधा उपलब्ध गराएको महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिनुभयो।

काठमाडौं टावरमा तीन सय वटा चारपाङ्ग्रे र सात सय वटा दुई पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने पाण्डेले बताए ।तर न्युरोड क्षेत्रका व्यवसायीहरूले भने यस क्षेत्रमा सवारी साधन पार्किङमा रोक लगाउँदा व्यापार व्यवसायमा असर पर्ने भन्दै आन्दोलन गरिरहेका छन्।

सवारी साधन पार्किङको उचित विकल्प नदिई महानगरले न्युरोड क्षेत्रका कालोपत्र सडकमा सवारी साधन पार्किङ रोकेको व्यवसायीहरूको भनाइ छ।