सुनाखरी न्युज/ काठमाडौ ।
आज काठमाडौंका केही स्थानमा छिटफुट वर्षा भएको छ। काठमाडौंबाहेक ताप्लेजुङ र मनाङमा पनि हल्का वर्षा भएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार आज दिउँसो काठमाडौंका चाबाहिल, बालाजु, महाराजगञ्ज लगायतका क्षेत्रमा छिटफुट वर्षा भएको हो।
‘एक दुई स्थानमा छिटफुछट वर्षा भएको हो, केही बेर पर्यो र रोकियो,’ उनले भने।
मौसविद झाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका कारण हल्का वर्षा भएको हो। काठमाडौंको आकाश धुम्म परेको छ। अन्य दिनको तुलनामा आज चिसो पनि केही बढी महसुस भएको छ।
मनाङको हुम्डे, सोलुखुम्बुको लुक्ला, हुम्ला लगायत उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको मौसमविद झाले जानकारी दिए।
उनले अहिले नै हिउँदे वर्षा गराउने प्रणाली भने सक्रिय नभएको बताए।
पश्चिमी वायुको सामान्य प्रभाव हो, वर्षा गराउने प्रणाली अझै सक्रिय भइसकेको छैन,’ मौसमविद झाले भने।