२०८१ पुष २८ , आइतवार

संयुक्त राष्ट्रसङ्घका प्रमुख गुटेर्रेसद्वारा दातृ राष्ट्रहरूलाई गाजामा सहयोगको निरन्तरता दिन आग्रह

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले गत अक्टोबर ७ मा इजरायलमाथि हमासको आक्रमणमा कर्मचारीको संलग्नता रहेको आरोप लागेपछि दातृ राष्ट्रहरूलाई प्यालेस्टिनी शरणार्थी निकाय (यूएनआरडब्लुए) को ‘निरन्तरताको ग्यारेन्टी’ दिन आग्रह गर्नुभएको छ ।

गुटेर्रेसले एक विज्ञप्ति जारी गर्दै भन्नुभयो, “मैले उहाँहरूको चिन्ता बुझेको छु । म आफैं यी आरोपहरूप्रति चिन्तित भएको छु । मैले यूएनआरडब्ल्यूएको सहयोगको निरन्तरताको सुनिश्चित गर्न आफ्नो योगदान स्थगित गरेका सरकारहरूलाई जोडदार अपील गर्दछु ।

इजरायलले हमासको आक्रमणमा यूएनआरडब्लुएका कैयौँ कर्मचारीको संलग्नता रहेको आरोप लगाउँदै आएको छ जसका कारण केही प्रमुख दातृ राष्ट्रहरूले आफ्नो आर्थिक सहायता रोकेका छन् ।यूएनआरडब्ल्यूएले इजरायलको आरोपको लागि धेरै कर्मचारीहरूलाई बर्खास्त गरेको थियो भने दावीहरूको विस्तृत अनुसन्धान गर्ने प्रतिवद्धता जनाएको थियो । इजरायलले युद्धपछि गाजामा यूएनआरडब्लुएको काम रोक्ने प्रतिज्ञा गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय अदालतले शुक्रबार इजरायलले द्वन्द्वमा नरसंहारका सम्भावित गतिविधि रोक्न र गाजामा थप सहायताका लागि अनुमति दिनुपर्ने फैसला सुनाएपछि इजरायल र युएनआरडब्लुएबीच विवाद उत्पन्न भएको हो ।गुटेर्रेसले भन्नुभएको छ, “यी कर्मचारीहरूको घृणित कथित कार्यको परिणाम हुनुपर्दछ ।”

“तर यूएनआरडब्लूएमा काम गर्ने दशौं हजार पुरुष र महिलाहरू, धेरै मानवतावादी कामदारहरूको लागि सबैभन्दा खतरनाक अवस्थामा, दण्डित हुनुहुँदैन,” उहाँले थप्नुभयो ।“तिनीहरूले सेवा गर्ने निराश जनसङ्ख्याको आवश्यकताहरू पूरा गर्नैपर्छ,”उहाँले भन्नुभयो ।युएनआरडब्लुएका १२ जना कर्मचारीको नाम उक्त अभियोगमा उल्लेख गरिएको पुष्टि गर्दै नौ जनालाई बर्खास्त गरिएको, एक जनाको मृत्यु भएको र अन्य दुईको पहिचान खुलाइएको गुटेर्रेसले बताउनुभएको छ ।

संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा र स्विट्जरल्याण्डलगायतका आरोपपछि युएनआरडब्लुएका केही प्रमुख दातृ राष्ट्रहरूले आफ्नो सेवा अस्थायी रूपमा स्थगन गर्ने बताएका छन् ।हमासले शनिबार युएनआरडब्लुएविरुद्ध इजरायलको ‘धम्की’को निन्दा गर्दै संयुक्त राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय संस्थालाई ‘धम्की र ब्ल्याकमेलिङमा नजान’ आग्रह गरेको छ ।गत अक्टोबर ७ मा इस्लामिक समूहले गरेको आक्रमणमा इजरायलमा करिब एक हजार १४० जनाको मृत्यु भएको एएफपीलाई प्राप्त तथ्याङ्कमाउल्लेख छ ।

लडाकूहरूले करिब २५० बन्धकहरूलाई कब्जामा लिएकोमा बन्धक तथा बन्दीहरूको आदानप्रदान सम्झौता अन्तर्गत भएको युद्धविरामका क्रममा कम्तीमा १०० बन्धकलाई फिर्ता गरिएको छ भने तीमध्ये करिब १३२ जना गाजामा रहेको बताइएको छ ।गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार गत अक्टोबरको अन्त्यदेखि शुरु भएको इजरायली सैन्य कारबाहीमा कम्तीमा २६ हजार २५७ जनाको मृत्यु भएको छ । रासस/एएफपी