सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानसेनापति खुला म्याराथन तथा रन फर फन प्रतियोगिता–२०८० आगामी फागुनमा सञ्चालन हुने भएको छ । नेपाली सेनाको आयोजनामा सञ्चालन हुने नवाैँ संस्करणको उक्त प्रतियोगिता आगामी फागुनमा १९ गते सञ्चालन हुने भएको हो ।
नेपाली सेनाका महासेनानी प्रमोदकुमार थापाले प्रतियोगितमा विभिन्न पाँच विधाका स्पर्धामा प्रतिस्पर्धा हुने जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा ४२–१९५ किमीको म्याराथन, हाफ म्याराथन, १० किमी दौड, पाँच किमीको वाकाथन र सैनिक विद्यालयका छात्रछात्राका लागि पाँच किमीको दौड हुनेछ ।
महासेनानी थापाले प्रतियोगिताका लागि खेलाडी छनोट गरी अभ्यास गरिरहेको बताउनुभयो । म्याराथनमा पुरुष खेलाडीले मात्र सहभागिता जनाउनेछन् भने अन्य विधाको खेलमा महिला तथा पुरुष खेलाडीले भाग लिनेछन् ।
म्याराथनमा पहिलो हुने खेलाडीले रू तीन लाखसहित एक थान यमाह कम्पनीको मोटरसाइकल पाउनेछन् । दोस्रोले रू दुई लाख, तेस्रोले रू एक लाख, चौथोले रू ५० हजार, पाँचाैँले रू ३० हजार, छैटौँले रू २५ हजार र सातौँ हुने खेलाडीले रू २० हजार पाउने आयोजकले जनाएको छ । सोही विधामा आठौँ हुने खेलाडीले रू १५ हजार, नवौँ हुने खेलाडीले रू १० हजार तथा १०औँ हुने खेलाडीले रू पाँच हजार पाउने छन् ।
हाफ म्याराथनतर्फ पहिलो दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः रू ७५ हजार, रू ५० हजार र रू ३५ हजार पाउनेछन् । पहिलो हुने खेलाडीले ७५ हजारसहित यमाह कम्पनीको मोटरसाइकल पाउनेछन् । त्यस्तै १० किमी दौडमा पहिलो दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः रू १० हजार, रू सात हजार र रू पाँच हजार पाउनेछन् । पाँच किमीको छात्रछात्रा दौडमा पहिलो हुनेले रू १० हजार, दोस्रोले रू सात हजार र तेस्रो हुने खेलाडीले रू पाँच हजार पाउनेछन् । रासस