सुनाखरी न्युज / काठमाडौं ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।अहिले बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।
तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ।मंगलबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले नियमित बुलेटिनमा उल्लेख गरेको छ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।यसैगरी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।