सुनाखरी न्युज/ काठमाडौं ।
यस वर्षको क्यान इन्फोटेक माघ २५ गतेदेखि हुने भएको छ । कम्युटर एशोसिएसन नेपाल (क्यान) बिहीबार पत्रकार सम्मेलन गरी मेलाबारे जानकारी गराएको हो ।
क्यान इन्फोटेक माघ २५ देखि माघ २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । क्यान महासंघले आयोजना गर्ने मुलुककै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी क्यान इन्फोटेक २०२४ को तयारी अन्तिम चरणमा पुगेको महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए ।
‘क्यान इन्फोटेकमा सूचना सञ्चार प्रविधि क्षेत्रका भित्रिएका नवीनतम प्रविधि तथा सेवाको विशेष प्रदर्शनी तथा सरोकारवालाहरुबीच गहन छलफल हुनेछ,’ बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने ।
यसवर्ष क्यान इन्फोटेकमा नेपालमै विकास गरिएको जेनेरेटिभ एआई सिष्टम ‘कान्छी’ रोबोटको बेटा संस्करण सार्वजनिक गरिने आयोजकले जनाएको छ । साथै एनपीसर्ट र सीएसआरआईको पहलमा साइबर सेक्युरीटी हेल्प डेस्कसमेत सञ्चालन गरिने क्यान महासंघले जनाएको छ ।
२९औँ क्यान इन्फोटेकको टाइटल स्पोन्सरमा एस पावर बीपीई प्रालि रहेको छ भने प्लाटिनम स्पोन्सरमा लर्डबुद्ध एजुकेशन फाउण्डेशन, डायमण्ड स्पोन्सरमा नेपाल टेलिकम तथा गोल्ड स्पोन्सरहरूमा इन्फो डेभलपर्स र मर्कन्टाइल अफिस सिष्टम प्रालि रहेका छन् ।
यस्तै सिल्भर स्पोन्सरहरूमा अर्न सिक्का (अनलिमिटेड टेक्नोलोजी), इन्सेसेन्ट रेन प्रालि, हिमकमरएनटेक र पीएनवई रहेका छन् । प्रदर्शनीको टिकेटिङ पार्टनरमा ईसेवा प्रालि, इन्टरनेट पार्टनरमा डिश मिडिया प्रालि, इन्नोभेसन पार्टनरमा ए८रेस ग्राफ नेपाल प्रालि, इन्स्यारेन्स पार्टनरमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स प्रालि, ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस प्रालि, डिजिटल डिस्प्ले पार्टनरमा डिलक्स रेडियो सर्भिस, एजुकेशन पार्टनमा पाटन कलेज फर प्रोफेशनल स्टडिज (पीसीपीएस कलेज) रहेका छन् ।
प्रदर्शनीलाई सफल रुपमा आयोजना हुन देशभित्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, सुबिसु लगायतका संस्थाले सहयोग गरेका छन् ।
मेलाको टिकेट इसेवामार्फत काट्ने सकिनेछ जसअन्तर्गत सर्वसाधारणका लागि रु१०० र विद्यार्थीका लागि रू५० रुपैयाँ शुल्क तोकिएको छ ।