सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल पशुपन्छीजन्य व्यवसायी सङ्घले पशु ढुवानीका लागि ‘होल्डिङ सेन्टर’को व्यस्थापन गरिदिन माग गरेको छ । पूर्वपश्चिम राजमार्गमा आठ÷आठ घन्टाको अन्तरमा पायक पर्ने गरी होल्डिङ सेन्टरको व्यवस्थापन गरिदिन सङ्घले माग गरेको हो ।
एनिमल नेपालले भरतपुरमा आयोजना गरेको पशु कल्याणसम्बन्धी सरोकारवालाबीचको अन्तक्र्रिया कार्यक्रममा सङ्घले आधुनिक पशु ढुवानी साधनको व्यवस्था मिलाउन ठाउँठाउँमा होल्डिङ सेन्टर आवश्यक पर्नेमा जोड दिएको हो । सङ्घका महासचिव किशोरप्रसाद शर्माले राँगा, भैँसी ढुवानीका लागि होल्डिङ सेन्टर नहुँदा पशु ढुवानी गर्न समस्या भएको बताउनुभयो । पशु ढुवानी गर्दा आठ घन्टाको अवधिमा पशुलाई ओरालेर दाना पानी खुवाउनुपर्ने भए पनि होल्डिङ सेन्टर नहुँदा गन्तव्यमा लैजान कठिन भएको उहाँको भनाइ छ । नेपालमा पाँच स्थानमा पशु क्वारेन्टाइन भए पनि होल्डिङ सेन्टर छैन ।
पशु सेवा ऐन २०५५ तथा सोको नियमावली २०५६, पशु ढुवानी मापदण्ड २०६४ अनुसार पशु ढुवानी गर्दा गाडीमा घाँस, पराल र दाना राखेको हुनुपर्छ । पशु ढुवानी नियमावली लागू गराउन सरोकारवाला पक्षको चासो देखिँदैन । पशु ढुवानी व्यवसायी वैकुण्ठ बलामीले पशु ढुवानीको मापदण्ड पूरा गर्न भौतिक संरचनामा सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले बुटवल–नारायणगढ सडक विस्तारका कारण पशु ढुवानी गर्न समस्या भएकोसमेत बताउनुभयो । तराईका विभिन्न जिल्लाबाट चितवन हुँदै राँगा भैँसी राजधानी भित्रने गर्दछन् । व्यवसायीले रामनगर र गैँडाकोट क्षेत्रमा पशुलाई ओरालेर दाना पानी खुवाउन होल्डिङ सेन्टरको व्यवस्था गर्न माग गरेका छन् ।
चितवनमा होल्डिङ सेन्टर स्थापना गर्न दुई वर्षअघि रु तीन करोड ८० लाख समेत विनियोजन गरिएको थियो । तर जग्गा नहुँदा रकम फ्रिज भएर गएको पशु क्वारेन्टाइन चितवनका प्रमुख शिरिष गौतमले जानकारी दिनुभयो । होल्डिङ सेन्टरका लागि जग्गा भाडामा लिन भन्दै सरकारले रु दुई लाख ४० हजार बजेट यस बर्षपनि विनियोजन गरेको उहाँले बताउनुभयो । तर, जग्गा उपलब्ध नहुँदा यो रकम फिर्ता हुने सम्भावना रहेको उहाँले बताउनुभयो ।
भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले पशु ढुवानी मापदण्डअनुसार गर्न व्यवसायीलाई अनुरोध गर्नुभयो । अधिकारीले स्थानीय तहबाट पनि केही कमीकमजोरी भएको भन्दै होल्डिङ सेन्टर स्थापना गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले आगामी दिनमा पशु कल्याणको पालना गर्दै ढुवानी गर्न व्यवसायीलाई निर्देशन दिनुभयो ।
व्यवसायीलाई समस्या भएको ठाउँमा समन्वय गर्न तयार रहेको भन्दै पशुसम्बन्धी मापदण्ड कार्यान्वयन गर्न उहाँले अनुरोध गर्नुभयो । एनिमल नेपाल चितवनकी प्रमुख सुलक्षणा रााणाले राँगा भैँसी ढुवानीमा न्यूनतम मापदण्ड पनि पालना नभएको बताउनुभयो । उहाँले ढुवानी गर्दा गाडीमा नाक र पुच्छरमा बाँधेर यातना दिँदै यात्रा गराउने गरेको बताउनुभयो । रासस