२०८१ पुष २७ , शनिवार

विश्व अर्थतन्त्र सकारात्मक दिशातर्फ फर्कियोः आईएमएफ

IMF

सुनाखरी न्युज/ काठमाडौं ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विश्वव्यापी वृद्धिको पूर्वानुमानित लक्ष्य प्राप्ति गरे पनि अझै सम्भावित जोखिमप्रति सचेत हुन आवश्यक रहेको जनाएको छ।  कोषका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएवाले आईएमएफले विश्वव्यापी वृद्धिको पूर्वानुमानित लक्ष्य प्राप्ति गरेको तर सम्भावित जोखिम भने अझै रहेको बताइन्।

वासिङ्टन डीसीमा रहेको आइएमएफको मुख्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा आइएमएफ प्रमुख जर्जिएवाले रूस–युक्रेन र इजरायल–हमासबीच द्वन्द्व जारी रहँदा जटिल भूराजनीतिक अवस्थाले अझै पनि विश्वव्यापी आर्थिक परिदृश्यमा अनिश्चितता ल्याएको बताएकी छन्।

आईएमएफले सन् २०२४ मा विश्वव्यापी आर्थिक वृद्धिको अनुमान ३।१ प्रतिशतमा पुर्‍याएको छ। सन् २०२३ को अक्टोबरमा गरिएको अनुमानभन्दा यो ०।२ प्रतिशत बढी हो। मध्यपूर्वको ढुवानी अवरोधबारे बोल्दै उनले जनवरीमा स्वेज नहरमा जाने कार्गो एक वर्षअघिको तुलनामा ४३ प्रतिशतले घटेको बताउँदै यसले सम्बन्धित मुलुकको अर्थतन्त्रमा धक्का दिएको बताइन्।

 

 

जर्जिएवाले पछिल्लो समय उदीयमान अर्थतन्त्रहरूले मुद्रास्फीतिलाई लक्ष्यमा ल्याएको बताउँदै परिणामस्वरुप निर्धारित समयअगावै कम ब्याज दरमा सर्ने र अमेरिकी दर उच्च रहेमा यसले विनिमय दरहरूलाई असर गरी अन्य देशलाई नकारात्मक प्रभाव छोड्नसक्ने उल्लेख गरिन्।