सुनाखरी न्युज/ काठमाडौं ।
ट्याक्सी वेुलाई धावनमार्ग रनवे सम्म जोड्ने कामका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चारदेखि पाँचदिन बन्द हुन सक्ने बताईएको छ । धावनमार्गको उत्तरतर्फ एप्रोन (पार्किङ), ह्यांगर (मर्मत केन्द्र) का साथै समानान्तर ट्याक्सी-वे (विमान गुड्ने बाटो) बनिरहेको छ।
त्यस्तै दक्षिणतर्फ पनि ट्याक्सी-वे निर्माणको काम भइरहेको नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले जानकारी दिएको छ ।
रन-वे र ट्याक्सी-वे बीचको कनेक्सन जडानको काम गर्दागर्दै विमानस्थल आंशिक तथा पूर्ण रूपमा बन्द गर्नुपर्ने अवस्था आउन सक्ने आयोजनाका प्रमुख इन्जिनियर दिपेन्द्र श्रेष्ठले बताए। यसका लागि अहिलेदेखि नै सूचना दिइएको उनले बताएका छन । न्यूनतम ८ देखि १० घण्टा समय लाग्ने भएपनि प्रतिकूल अवस्थामा भने लामो सयम नै विमानस्थल बन्द हुन सक्ने बताए।
सकेसम्म कमभन्दा कम समय विमानस्थल बन्द गरेर काम गर्ने विषयमा अध्ययन भइरहेको छ।उनका अनुसार त्यस्तो परिस्थिति आएमा विमानस्थलसँग जोडिएका वायुसेवाहरूलाई सूचना दिएर बन्द गरिनेछ।रनवेसम्म ट्याक्सी वे पुर्याउनका लागि भने अझै ३/४ महिना लग्ने उनले बताएका छन।