२०८१ पुष २७ , शनिवार

दक्षता अभिवृद्धिका लागि ६० जनालाई ट्राफिक नियन्त्रण तालिम सञ्चालन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
ट्राफिक प्रहरीको दक्षता अभिवृद्धिका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ६० जना प्रहरी कर्मचारीहरूका लागि ट्राफिक नियन्त्रण तालिम सञ्चालन गरेको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा संचालित ट्राफिक नियन्त्रण १५१ औं समूहको तालिमको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले सोही कार्यालयमा बिहीबार आयोजित कार्यक्रमबीच उद्घादटन गर्नुभयो ।

सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले सडकमा सवारी साधनको चापलाई व्यवस्थापन, सहज आवागमन र दुर्घटना न्यूनीकरण गर्नलाई आवश्यक व्यावसायिक ज्ञान, सीप, कौशल तालिममा प्रदान गरिने बताउनुभयो । यस प्रशिक्षणमा प्रशिक्षार्थीहरूले बढीभन्दा बढी उत्सुक तथा सक्रिय भई तालिम हासिल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर थापाले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ दिन कार्य अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार ११ जना र प्रहरी जवान ४७ जना गरी कुल ६० जना प्रशिक्षार्थीहरु सहभागी रहेको जानकारी दिनुभयो ।