२०८१ कार्तिक २० , मंगलबार

क्रेमलिनका आलोचक एलेक्सी नाभाल्नीको शव आमालाई हस्तान्तरण

Capture

सुनखरी न्युज/ काठमाडौं ।
रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको शव उहाँको मृत्युको एक साताभन्दा बढी समयपछि उहाँकी आमालाई बुझाइएको नाभाल्नीका प्रवक्ता किरा यार्मिशको भनाइ उद्धृत गर्दै सिएनएनले बताएको छ ।सामाजिक सञ्जालमा साझा गरिएको एक पोस्टमा यार्मिशले भन्नुभएको छ, “एलेक्सीको शव उहाँकी आमालाई बुझाइएको छ, हामीसँग यो माग गर्ने सबैलाई धेरै धेरै धन्यवाद ।” उहाँका अनुसार नाभाल्नीको शव राखिएको आर्कटिक सहर सालेकहार्डमा उहाँकी आमा ल्युडमिला नाभाल्नाया अझै हुनुहुन्छ ।

फेब्रुअरी १६ मा एलेक्सी नाभाल्नीको पेनल कोलोनी कारागारमा हुँदा मृत्यु भएको हो । रुसी प्रेस सेवालाई उद्धृत गर्दै सिएनएनले नाभाल्नीले ‘टहलिएपछि अस्वस्थ महसुस गर्नुभएको’ र ‘करिब तुरुन्तै’ बेहोश हुनुभएको बताएको छ ।यार्मिशले नाभाल्नीको अन्तिम संस्कार सम्बन्धमा अझै योजना नबनाइएको बताउनुभयो । “परिवारले चाहेअनुसार र एलेक्सीको चाहनाबमोजिम गर्न अधिकारीहरूले हस्तक्षेप गर्छन् वा गर्दैनन् हामीलाई थाहा छैन”, उहाँले भन्नुभयो, “खबर आउनेबित्तिकै हामी तपाईंलाई सूचित गर्नेछौँ ।”

नाभाल्नीको परिवार र सहकर्मीहरूले उहाँको मृत्युका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दोष दिएका छन् । एलेक्सी नाभाल्नीको मृत्यु मार्चमा रुसमा हुन गइरहेको राष्ट्रपति निर्वाचनअघि भएको छ ।एलेक्सी नाभाल्नीकी श्रीमती युलिया नाभाल्नायाले पुटिनमाथि नाभाल्नीको मृत्युको कारण लुकाउन र उहाँको अन्तिम संस्कारमा ठूलो भीड सहभागी हुने डरले शवलाई राख्न आदेश दिएको आरोप लगाउनुभएको छ । क्रेमलिनले उक्त आरोपलाई अस्वीकार गरेको सिएनएनले बताएको छ ।

पछिल्ला धेरै दिनदेखि नाभाल्नीको परिवारले रुसी अधिकारीहरूसँग उहाँको शव दिन अनुरोध गरिरहेको थियो । एलेक्सी नाभाल्नीकी आमा ल्युडमिला नाभाल्नायाले आफ्नो छोराको मृत्युपछि तुरुन्तै शव निकाल्न सालेकहार्डको भ्रमण गर्नुभएको थियो । यद्यपि उहँको अनुरोधलाई रुसी अधिकारीहरूले बारम्बार अस्वीकार गरेका थिए ।यसैबीच एलेक्सी नाभाल्नीको श्रीमती र छोरीले फेब्रुअरी २२ मा सान फ्रान्सिस्कोमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गर्नुभएको छ । युलिया नाभाल्नाया र दशा नाभाल्नायासँगको भेटका क्रममा बाइडेनले कारागारमा रुसी नेताको मृत्युपछि ‘हार्दिक समवेदना’ व्यक्त गर्नुभयो । उहाँले एलेक्सीलाई असाधारण साहस र भ्रष्टाचारविरुद्ध लड्ने उहाँको विरासतको प्रशंसा गर्नुभयो ।

विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति बाइडेनले एलेक्सी नाभाल्नीको असाधारण साहस र भ्रष्टाचारविरुद्ध लड्ने उहाँको विरासत र कानूनी शासन सबैका लागि समानरूपमा लागु हुने एक स्वतन्त्र तथा लोकतान्त्रिक रुसका लागि प्रशंसा व्यक्त गर्नुभयो ।”बाइडेनले एलेक्सीको विरासत रुस र विश्वभरका मानिसले उहाँको क्षतिमा शोक मनाउने र स्वतन्त्रता, लोकतन्त्र तथा मानवअधिकारहरूका लागि लड्ने माध्यमबाट जारी राख्नेमा जोड दिनुभएको छ । ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “ह्वाइट हाउस प्रशासनले एलेक्सीको मृत्यु, रुसको दमन र आक्रामकता तथा युक्रेनमा रुसको क्रुर र अवैध युद्धको जवाफमा भोलि रुसविरुद्ध नयाँ प्रतिबन्धको घोषणा गर्ने उहाँले पुष्टि गर्नुभएको छ ।” रासस/एएफपी