सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधनले मुलुकलाई अपुरणीय क्षति पुगेको बताउनुभएको छ ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको आचार्यको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पणपछि संक्षिप्त भनाइ राख्नुहुँदै अध्यक्ष ओलीले यो दःुखद घडीमा शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभयो । उहाँले सङ्गीत कला क्षेत्रका महानुभावप्रति पनि समवेदना प्रकट गर्नुभयो ।
उहाँलाई श्रद्धाञ्जलि दिने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेता मीनेन्द्र रिजाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा प्रभाकरलगायत विभिन्न दलका नेता तथा शुभेच्छुकहरुको उपस्थिति थियो ।
प्रतिष्ठानमा श्रद्धाञ्जलिको अर्पण जारी छ । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । भजन शिरोमणिसमेत उपाधि पाउनुभएका उहाँको सोमबार ८२ वर्षको उमेरमा निधन भएको थियो । आचार्यलाई उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो ।
गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत सङ्गीत क्षेत्रमै हुनुहुन्छ । नेपाली सुगम सङ्गीतमा महत्वपूर्ण योगदान दिनुभएका आचार्यले चार सय बढी गीतमा स्वर तथा सङ्गीत दिनुभएको छ । रासस