२०८१ मंसिर १५ , शनिवार

भरतपुर भ्रमण वर्षको आज शुभारम्भ गरिँदै

bharatpur 7

 

सुनाखरी न्युज / काठमाडौँ ।

भरतपुर भ्रमण वर्ष २०२४ को प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो १ नारायणी नदी किनारमा शुभारम्भ गर्नु हुनुभएको छ । पाँच पूर्वप्रधानमन्त्रीका उपस्थितिमा उहाँले भ्रमण वर्षको उद्घाटन गर्न लाग्नुभएको हो । यसका लागि प्रधानमन्त्री बिहीबार साँझ चितवन आइसक्नुभएको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालका अनुसार कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ( समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसहित विशिष्टि व्यक्तित्व उपस्थिति हुनुहुनेछ । यसैगरी चितवन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछाने, उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेश अग्रवाललगायतको उपस्थिति हुने दाहालले जानकारी दिनुभयो ।

यसैगरी बागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जम्कट्टेल, प्रदेश प्रमुख अमिक शेरचन र तिलक परियार उपस्थित हुनुहुने भएको छ । माल्टाको एम्सिदा नगरका नगरप्रमुख मारर्गेरेट सेफाइसँगै नेपालका महानगरपालिका पोखरा र वीरगञ्जबाट प्रमुखको कार्यक्रममा उपस्थित हुनुहुने छ । चितवन र छिमेकी जिल्लाका उपमहानगर, नगर र गाउँपालिकाका प्रमुख एवं अध्यक्षहरू कार्यक्रममा उपस्थित हुनुहुनेछ । यसैगरी मन्त्री, सांसदलगायतका विशिष्ट व्यक्तिहरूको कार्यक्रममा उपस्थिति रहने दाहालले जानकारी दिनुभयो । नारायणी नदी किनारमा ५० हजारभन्दा बढीको उपस्थितिमा भ्रमण वर्षको उद्घाटन गर्ने तयारी गरिएको छ । भरतपुरको पर्यटकीय महत्वलाई स्वदेश र विदेशमा पुर्याउने लक्ष्यका साथ भ्रमण वर्षको आयोजना गर्न लागिएको हो । उपप्रमुख चित्रसेन अधिकारीका अनुसार भ्रमण वर्षमा आन्तरिक पाँच लाख पर्यटक र बाह्य दुई लाख पर्यटकले भरतपुर महानगरको भ्रमण गर्ने लक्ष्य राखिएको छ । सोहीअनुसार देश तथा विदेशमा समेत प्रचारप्रसारको काम गरिएको छ ।

औपचारिक कार्यक्रमअघि र पछि राष्ट्रिय र स्थानीय कलाकारले नदी किनारमा साँझसम्म प्रस्तुति प्रस्तुत गर्नेछन् । भरतपुर महानगरभित्र सात मुख्य गन्तव्य तोकिएका छन् । यसका अतिरिक्त २१ गन्तव्यको समेत प्रचारप्रसार गरिएको छ । मुख्य गन्तव्यलाई ब्लक बनाएर अन्य गन्तव्यको प्रचार गरिएको उपप्रमुख अधिकारीले जानकारी दिनुभयो । भ्रमण वर्षका अवसर पारेर चितवन राष्ट्रिय निकुञ्जभित्र खोरमा राखिएका हिंस्रक बाघलाई सर्वसाधारणले अवलोकन गर्न मिल्नेगरी महानगरको देवनगर खोरमा राखिँदै छ । सोही ठाउँमा एकसिङ्गे गैँडासमेत पर्यटकले हेर्न पाउनेछन् । ऐतिहासिक दियालो दरबारसमेत भ्रमण वर्षसँगै सर्वसाधारणका लागि खुला गर्ने तयारी गरिएको छ । भ्रमण वर्षका अवसरमा यहाँका होटल रेष्टुरेन्टले सहुलियतमा आफ्नो सेवा दिनेछन् । नारायणी र राप्ती नदीको बीचमा अवस्थित भरतपुर महानगर धार्मिकसँगै पर्यापर्यटनको हिसाबले महत्त्वपूर्ण छ ।रासस