सुनाखरी न्युज/ काठमाडौँ ।
गाजामा युद्धविरामका लागि ‘नयाँ चरणको वार्ता’ शुरू गर्न कतार र संयुक्त राज्य अमेरिकाका प्रतिनिधिमण्डलसहित हमासको टोली इजिप्ट पुगेको इजिप्टको सरकारी समाचार संस्था अल–काहेरा न्यूजले आइतबार जनाएको छ ।कायरो, दोहा र वासिङ्टनले इजरायल र हमासबीच अक्टोबर ७ मा भएको आक्रमणपछि सुरु भएको करिब पाँच महिना लामो युद्धलाई रोक्ने उद्देश्यले हप्तौं लामो वार्तामा मध्यस्थता गरेका छन् ।
उनीहरूको लक्ष्य अर्को हप्ता मुस्लिमहरूको पवित्र महिना रमजानको सुरु हुने बित्तिकै युद्धविराम गर्ने रहेको छ, तर असफल वार्ताको शृङ्खलाले आशालाई क्षीण बनाएको छ ।
वार्ता छ हप्ताका लागि युद्ध स्थगन गर्ने र इजरायली जेलबाट प्यालेस्टिनी कैदीहरूको रिहाई र बदलामा हमासले बन्धकहरूलाई मुक्त गर्ने प्रस्तावमा केन्द्रित भएको छ ।अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको अनपेक्षित आक्रमणबाट युद्ध सुरु भएको थियो जसमा करिब एक हजार १६० जनाको मृत्यु भएको एएफपीले विभिन्न स्रोतबाट पुष्टि गरेको तथ्याङ्कले देखाएको छ ।
इजरायलका अनुसार गाजामा प्रभाव रहेका हमास लडाकुहरूले २५० बन्धकहरूलाई अपहरण गरेका थिए भने उनीहरूमध्ये १३० जना कैदमा रहेका छन् ।इजरायली घेराबन्दीमा परेको प्यालेस्टिनी भूमिमा इजरायलको जवाफी कारबाहीमा ३० हजार ४१० जनाको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ । रासस/एएफपी