२०८१ माघ १ , मंगलबार

हाइटीमा घातक हिंसापछि राष्ट्रसङ्घीय प्रमुखद्वारा ‘गहिरो चिन्ता’ व्यक्त

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सप्ताहन्तमा भएको घातक हिंसापछि हाइटीको राजधानी पोर्ट–अ–प्रिन्समा बिग्रँदो सुरक्षा अवस्थालाई लिएर गहिरो चिन्ता व्यक्त गर्नुभएको उहाँको मुख्य प्रवक्ताले सोमबार बताउनुभएको छ ।

“महासचिव पोर्ट–अ–प्रिन्समा निरन्तर बिग्रँदै गएको सुरक्षा स्थितिप्रति अत्यन्त चिन्तित हुनुहुन्छ, हाइटीमा सशस्त्र गिरोहहरूले सप्ताहन्तमा प्रहरी चौकी र दुई कारागारसहित महत्वपूर्ण पूर्वाधारहरूमा आक्रमणलाई तीव्र बनाएका छन्”, प्रवक्ता स्टेफन डुजारिकले भन्नुभयो ।

उहाँका अनुसार महासचिव गुटेरेसले विशेषरूपमा गैर–संयुक्त राष्ट्र बहुराष्ट्रिय सुरक्षा सहायता मिसनका लागि वित्तीय सहायता प्रदान गर्न तत्काल कारवाहीको आवश्यकता दोहोर्याउनुभएको छ । मिसनमा मुलुकहरूको स्वयंसेवी प्रहरी टुकडीको एउटा समूह छ । उक्त समूहले तत्काल सुरक्षा आवश्यकताहरू पूरा गर्न र मुलुकलाई अराजकताबाट जोगाउन हाइटीका प्रहरीलाई सहयोग गर्नेछ ।

महासचिवले हाइटी सरकार र अन्य राजनीतिक नेताहरूसँग निर्वाचनमार्फत लोकतान्त्रिक संस्थाहरूको पुनःस्थापनाको दिशामा राजनीतिक प्रक्रियालाई अगाडि बढाउने आवश्यक कदमहरूमा छिटो सहमत हुन आह्वान गर्नुभएको प्रवक्ता डुजारिकले बताउनुभयो ।

प्रधानमन्त्री तथा कार्यवाहक राष्ट्रपति एरियल हेनरी केन्यामा एक हजार प्रहरी अधिकारीलाई पठाउने कार्यलाई वैध बनाउने एक सम्झौतामा हस्ताक्षर गर्नका लागि केन्यामा हुँदा हिंसा भड्किएको थियो ।सन् २०२१ जुलाईमा राष्ट्रपति जोभेनल मोइसको हत्यापछि सम्पूर्ण क्यारेबियाली मुलुकमा गिरोह हिंसा बढिरहेको छ ।   रासस/सिन्ह्वा