२०८१ मंसिर १३ , बिहिवार

अरब सागरमा डुङ्गा डुब्दा १२ पाकिस्तानी माझीको मृत्यु भएको पुष्टि

Death-body-900px

सुनाखरी न्युज/ काठमाडौं ।

अरब सागरमा डुङ्गा डुब्दा १२ जना पाकिस्तानी माझीको मृत्यु भएको पाकिस्तानी सेनाले बुधबार पुष्टि गरेको छ ।गत मार्च ५ मा उक्त माछा मार्ने डुङ्गा समुद्रमा डुबेपछि उद्धारकर्मीहरूले दक्षिणी सिन्ध प्रान्तमा हेलिकप्टर, पानीजहाज र स्पिडबोटको सहायताले पानीभित्र वेपत्ता मछुवाको खोजीकार्य शुरू गरेका थिए ।

सेनाको जनसम्पर्क शाखाले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “करिब एक हप्ताको अन्तरालमा १२ व्यक्ति शव पानीको गहिराईबाट निकालिएको छ ।”“बेपत्ता भएका अन्य दुई जनाको खोजी कार्य जारी छ,” विज्ञप्तिमा भनिएको छ ।

पाकिस्तानमा कमजोर सडक, असुरक्षित जलमार्ग, पूराना सवारी साधन र चालकको लापर्बाहीका कारण घातक यातायात दुर्घटनाहरू हुने गरेका छन् ।पाकिस्तानी सेनाले यसअघि भारतीय सीमा नजिकैैको खुला समुद्रमा ‘प्रतिकूल मौसमका कारण’ डुङ्गा पल्टिँदा डुङ्गामा चालक दलका ४५ सदस्य रहेको बताएको थियो ।

पाकिस्तानमा मनोरञ्जनका लागि प्रयोग गरिने डुङ्गा र सानातिना काममा प्रयोग हुने मोटरबाट चल्ने डुङ्गा प्रायः ओभरलोड हुन्छन् जसले दुर्घटना निम्त्याउने गर्छ ।   रासस/एएफपी