२०८१ मंसिर ११ , मंगलबार

प्रेम प्रस्ताव अस्वीकार गरेपछि हत्या

Capture

सुनाखरी न्युज/ काठमाडौं।

गोकर्णेश्वर नगरपालिका-३ स्थित तारेभीर जंगलमा युवतीको हत्या गरेर शव गाडेको घटनामा प्रहरीले एक हप्तापछि आरोपितलाई पक्राउ गरेको छ ।स्थानीय १८ वर्षीया सुष्मा लामाको हत्या आरोपमा पक्राउ परेका गोकर्णेश्वर नगरपालिका-३ कै २१ वर्षीय रुपेन्द्र लामालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार सार्वजनिक गरेको छ ।

प्रेम प्रस्ताव अस्वीकार गरेपछि आरोपीले सुस्माको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले बताए । राठौरले भने–‘आरोपीले सुस्मालाई पटक–पटक प्रेम प्रस्ताव राखेको खुलेको छ ।’

सुस्मा बुढानीलकण्ठस्थित बुढानीलकण्ठ माविमा पढ्थिन् । विगत ८ महिनादेखि सुस्मासँग ‘एकोहोरो प्रेम’ मा परेका रुपेन्द्रले उनको हत्या गर्न ८ दिनसम्म क्याम्पस जाने बाटोमा ढुकेर बसे । गोकर्णेश्वर माघ २२ मा बिहान सुस्मा एक्लै कलेज गएको अवस्थामा बाटो ढुकेर उनले हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

८ दिनदेखि सुस्मा कलेज जाने बाटोमा कुरेर मौका हेरेका रुपेन्द्रले योजनाबद्ध रूपमा ४ दिन अघिदेखि झोलामा कुटो बोकेर रेकी गरेका हुन् । हत्यापछि कुटोले खाल्डो खनेर पुरेको डीएसपी घिमिरेले बताए । घिमिरेले भने– ‘हत्या गरेको ठाउँभन्दा १० मिटर तल हात बाँधेर पुरेको भेटिएको छ ।’मृतकको कम्मर पेटी खोलेर हातमा बाँधेको भेटिएको छ ।

घाँटीमा मृतककै टाइले बाँधेको अवस्थामा प्रहरीले शव उत्खनन गरेको थियो । हत्या गरेर करिब ४५ मिनेटमा आरोपीले शव व्यवस्थापन गरेर नजिकै रहेको घरमा फर्केका हुन् ।