सुनाखरी न्युज/ काठमाडौं।
युएसए खुला अन्तराष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।अमेरिकाको टेक्सासमा यही चैत १३ देखि १८ गतेसम्म हुने प्रतियोगितामा नेपालबाट एरिका गुरुङ र विप्लवलाल श्रेष्ठले भाग लिनेछन् ।
एरिका १९औँ एसियाली खेलकुद (एसियाड) प्रतियोगिताका रजत पदक विजेता हुन । गत असोजमा चीनको ग्वान्झाउमा सम्पन्न एसियाडमा एरिकाले नेपाललाई रजत पदक दिलाएकी थिइन । त्यस्तै विप्लवलालले घरेलु मैदानमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्णपदक दिलाएका थिए ।
युएसए खुला प्रतियोगितामा एरिकाले महिला ६८ केजीमाथिको तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन् । विप्लवलालले पुरुष ८४ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । उक्त प्रतियोगिताको प्रशिक्षकमा दीपक श्रेष्ठ र कुशल श्रेष्ठ रहेका छन । कुशलबाहेक अन्य तीन सदस्य नेपाली टोली आजै अमेरिका प्रस्थान गर्नेछन् । त्यस्तै कुशल भने भोली अमेरिका प्रस्थान गर्नेछन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले आज नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो ।
रासस