२०८१ मंसिर १४ , शुक्रवार

पुरानो रिसिइबीका कारण दुई युवाको हत्या

lalitpur-police

सुनाखरी न्युज/ काठमाडौं ।

ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्याको कारण ‘पुरानो रिसिइबी’ भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । ढोलाहिटीस्थित डि–पोपिना रेस्टुरेन्टमा गएराति दुई जनामाथि चक्कु प्रहार भएको थियो । सुनसरीको धरान घर भएर ढोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र पाँचथर घर भएर खुमलटार बस्ने ३० वर्षीय पुजन राईलाई अस्पतालले मृत घोषणा गरेको छ ।

हत्या अनुसन्धान गर्न १८ जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको ललितपुरका एसएसपी शेखर खनालले  बताए । रोबसको कोखमा चक्कु प्रहार गरिएको छ । पुजनको तिघ्रामा प्रहार गरेर रेस्टुरेन्टमा लामो समय राखेर ओभर ब्लिडिङ्ग गराएको भेटिएको छ ।

पुजन राईलाई सुमेरु अस्पतालमा र रोबसलाई पाटन अस्पतालमा भर्ना गरेपछि प्रहरीले खबर पाएको थियो । राति ११ बजेतिर घटनाबारे खबर पाएपछि अनुसन्धान थालिएको एसएसपी खनालले जानकारी दिए ।

मापसे गरेपछि विवाद बढेको र त्यसपछि पुरानो रिसिइबीको कुरा झिकेर चक्कु प्रहार भएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताए । घटनाबारे रेस्टुरेन्ट सञ्चालक र स्थानीयले प्रहरीले खबर गरेनन् । रोबसलाई पाटन हस्पिटलमा लगेको करिब २० मिनेटपछि पुजनलाई सुमेरु लगिएको थियो ।