सुनाखरी न्युज/ काठमाडौं ।
बाँकेका १३ जना महिला स्वयंसेविकालाई नगद रु ५० हजारसहित बिदाइ गरिएको छ । ६० वर्ष उमेर पुगेका उनीहरुलाइ जिल्ला स्वास्थ्य कार्यालयले आज सम्मान कार्यक्रम आयोजना गरि बिदाइ गरेको हो । लुम्बिनी प्रदेश स्वास्थ्यमन्त्री राजु खनालले अवकाश पाएका स्वयंसेविकाहरुलाइ सम्मानसहित बिदाइ गर्नुभयो ।
स्वास्थ्यमन्त्री राजु खनालले प्रदेशभर नौ हजार स्वास्थ्य स्वयंसेविका रहेको जानकारी दिनुभयो । उहाँहरुको योगदानलाई सम्मान गर्न प्रदेश सरकारले रु ५० हजार नगद प्रदान गर्ने नीति लिएको मन्त्री खनालले बताउनुभयो ।
उहाँले प्रदेशभित्र एक सय पाँच विशेषज्ञ दरबन्दी रिक्त रहेको जानकारी दिनुभयो । सम्मानित महिला स्वयंसेविका बीना पाण्डेले विगतमा टोलटोलमा पुगेर स्वास्थ्य सेवा दिएको स्मरण गर्दै अहिले प्रविधिले धेरै सहज बताउनुभयो ।जिल्ला स्वास्थ्य कार्यालय प्रमुख अङ्गद शाहीले स्वास्थ्य महिला स्वयंसेविका स्वास्थ्य क्षेत्रका खम्बा भएको औँल्याउँदै गाउँगाउँमा स्वास्थ्यसम्बन्धी जागरण ल्याउन अमूल्य योगदानको प्रशंसा गर्नुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्यद्वय आशा नेपाली, मीना सिद्धिकी, प्रदेशका स्वास्थ्य सचिव जर्नादन पन्थी, उपमहानगरका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्द लगायतले महिला स्वयंसेविकाले समुदाय र स्वास्थ्य संस्थाबीच पुलको काम गरेको बताउनुभयो । नेपालगन्ज उपमहानगरका १० र जानकी गाउँपालिकाका तीन गरी १३ जनालाई नगदसहित सम्मान गरिएको हो ।
बाँकेका सबै स्थानीय तहमा कूल ३५ जना महिला स्वयंसेविका कार्यरत छन् । लुम्बिनी प्रदेशमा बर्सेनि चार सयको हाराहारीमा महिला स्वयंसेविकाले अवकाश पाउने गरेका छन् । अवकाश पाएका स्वास्थ्य स्वंससेविकालाई सम्मानसहित बिदाइ गरिएको लुम्बिनी प्रदेशमा पहिलो पटक हो । रासस