सुनाखरी न्युज/ काठमाडौं ।
आर्थिक वर्ष २०२४ मा नेपालको अर्थतन्त्र ३.३ प्रतिशतले वृद्धि हुने विश्व बैंकको अनुमान छ।यसलाई पर्यटन पुनरुत्थान र जलविद्युत निर्यातको बढ्दो गतिले मुख्य रूपमा डोर्याउने विश्व बैंकले उल्लेख गरेको छ।विश्व बैंकले अर्धवार्षिक रूपमा अद्यावधिक गर्ने ‘कन्ट्री डेलभपमेन्ट अपडेट’का अनुसार रेमिटेन्स भित्रिने दरमा देखिएको उल्लेख्य वृद्धिले निजी उपभोग समेत बढ्नेछ।
‘सुधारको बाटोमा नेपालको अर्थतन्त्र, तर न्यून निजी लगानी’ शीर्षक तय गरिएको पछिल्लो नेपाल डेभलपमेन्ट अपडेटले आर्थिक वर्ष २०२५ मा थप ४.६ प्रतिशतको वृद्धि हासिल गर्ने प्रक्षेपण गरेको छ।यो प्रक्षेपण बहु चुनौतीसहितको रहेको विश्व बैंकले उल्लेख गरेको छ।
भारत, खाडी मुलुक र मलेसियाजस्ता साझेदार मुलुकहरूको सुस्त वृद्धिका कारण विप्रेषण र पर्यटनमा गिरावट आउन सक्ने भएकोले चुनौती देखिएको विश्व बैंकले उल्लेख गरेको हो।त्यसका लागि व्यावसायिक वातावरणमा सुधारको उद्देश्यसहित धेरै निजी लगानी आकर्षित गर्न जरुरी हुने र यसले मध्यकालीन वृद्धिलाई सहायता पुर्याउने विश्व बैंकले बताएको हो।
‘पुँजीगत खर्च कार्यान्वयनको सबलीकरण, व्यावसायिक मनोबल बढाउनु र नेपालको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता सबल बनाउनु आर्थिक वृद्धि र गरिबी न्यूनीकरणको सवालमा महत्त्वपूर्ण छन्,’ माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फरिस हदाद जर्भोसले भने।
नेपाल डेभलपमेन्ट अपडेट साउथ एसिया डेभलपमेन्ट अपडेटसँग समानान्तर रूपमा तयार गरिएको हो। यसले दक्षिण एसियाली क्षेत्रको आर्थिक विकास र दृष्टिकोणको परीक्षण र मुलुकहरूले बेहोर्नुपरेका नीतिगत चुनौतीहरूको विश्लेषण गर्छ।’उत्थानशीलताका लागि रोजगारी’ शीर्षकको अप्रिल २०२४ को यस संस्करणले विश्वका कुनै पनि उदाउँदा बजारहरू र विकासशील मुलुकहरूमध्ये दक्षिण एसियाको वृद्धि सबैभन्दा उच्च देखाएको छ।
सन् २०२४ मा दक्षिण एसियाको वृद्धि ६ प्रतिशत र सन् २०२५ मा ६.१ प्रतिशत हुने अनुमान गरिएको छ। तर प्रतिवेदनले यो दृष्टिकोण (अनुमान) झुक्काउने खालको पनि हुन सक्ने जनाएको छ।धेरै मुलुकहरूको वृद्धि अझै पनि महाव्याधि पूर्वको तहभन्दा अझै कम रहेको र सार्वजनिक खर्चमा बढी निर्भर रहनुपरेको छ। यसै समय, सबै दक्षिण एसियाली मुलुकहरूमा निजी लगानी वृद्धिमा सुस्तता आएको छ र यस क्षेत्रले तीव्र रूपमा बढ्दो काम गर्ने उमेरको जनसंख्याका लागि पर्याप्त जागिरहरू सिर्जना गर्न नसकेको विश्व बैंकले बताएको छ।
‘आफ्नो जनसांख्यिक लाभलाई पूर्ण रूपमा उपयोग गर्न दक्षिण एसिया अहिले असफल भएको छ। यो अवसर गुमेको छ,’ दक्षिण एसियाका लागि विश्व बैंकको प्रमुख अर्थशास्त्री फ्रान्जिस्का ओह्न्सोर्जले भनिन्, ‘यदि यो क्षेत्रले अन्य उदाउँदा बजारहरू र विकासशील अर्थतन्त्रहरूले जस्तै आफ्नो काम गर्न योग्य उमेर समूहको ठूलो जनसंख्यालाई रोजगार बनाउन सकेको भए त्यसको नतिजा १६ प्रतिशतभन्दा बढी हुन सक्थ्यो।’तीव्र रोजगारी सिर्जना गर्न र वृद्धिलाई बढावा दिन साउथ एसिया डेलभपमेन्ट अपडेटले केही नीतिगत सुझावहरू पनि दिएको छ।
व्यापारमा खुलापनको वृद्धि, व्यावसायिक वातावरण र संस्थाहरूको सुधार, वित्तीय क्षेत्रको प्रतिबन्ध फुकुवा, शैक्षिक सुधार र महिला अधिकारको कानुनी संरक्षणको सुदृढीकरण यस्ता सुधारअन्तर्गत छन्।यी उपायहरूले रोजगारी वृद्धि र उत्पादन बढाउन, जलवायु अनुकूलनमा सार्वजनिक लगानीको लागि आधार तयार गर्न सहयोग पुर्याउने उल्लेख छ।