२०८१ माघ २ , बुधवार

इजिप्टका राष्ट्रपति अल–सिसीद्वारा सपथग्रहण

Capture

सुनाखरी न्युज/काठमाडौं ।

इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीद्वारा तेस्रो कार्यकालका लागि सपथ लिनु भएको छ । गत डिसेम्बरमा भएको निर्वाचनमा उहाँ पुनः राष्ट्रपतिमा निर्वाचित हुनु भएको थियो ।

इजिप्टमा संविधान अनुसार राष्ट्रपतिको कार्यकाल छ वर्षको हुने गर्दछ । राष्ट्रपति सिसीले नयाँ संसद भवनमा सपथ लिनु भएको हो ।

डिसेम्बरको निर्वाचनमा सिसीले झण्डै ९० प्रतिशत मत प्राप्त गर्नु भएको थियो । उहाँका विपक्षी उम्मेदवारले लगातार तेस्रो पटक खासै उल्लेखनीय मत प्राप्त गर्न सकेका छैनन् । करिब छ करोड ७० लाख मतदाता रहेको इजिप्टमा गत डिसेम्बरमा सम्पन्न चुनावमा करिब ६७ प्रतिशत मतदान भएको थियो ।

इजिप्टको पूर्वी सीमाक्षेत्रमा अवस्थित गाजामा इजरायल–हमास युद्ध भड्किएपछि डिसेम्बरको चुनाव पनि छायाँमा परेको थियो । उक्त युद्धको असर गाजासँगै छिमेकी मुलुक इजिप्टसम्म फैलिन सक्ने अनुमानबीच इजिप्टमा राष्ट्रपतिको चुनाव भएको थियो ।

अल–सिसी सन् २०१४ मा पहिलो पटक राष्ट्रपतिमा निर्वाचित हुनु भएको थियो । उहाँ सन् २०१८ मा दोस्रो कार्यकालका लागि विजयी हुनु भएको थियो । सन् २०१९ मा संविधान संशोधन पश्चात् अल–सिसीको कार्यकाल दुई वर्ष थप्नुका साथै तेस्रो कार्यकालका लागि चुनाव लड्न बाटो खोलिएको थियो ।

इजिप्टको राष्ट्रपतिमा अल–सिसीलाई चुनौती दिने कुनै उम्मेदवार चुनावी मैदानमा थिएनन् । राष्ट्रपतिका अन्य प्रतिस्पर्धीहरु चुनावी प्रचारमा समेत सहभागी भएका थिएनन् ।  रासस/ एपी