सुनाखरी न्युज / काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला सङ्घ ( समाजवादी ) ले आसन्न १० औँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा कमिटी निर्माणका साथसाथै सदस्यता विस्तार अभियानलाई देशभर सञ्चालन गरेको छ ।पार्टी मातहतका सबै कमिटीलाई लोकतान्त्रिक पद्धतिबाट अनुमोदित गराएर नेतृत्वलाई थप जिम्मेवार बनाउन सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मको कमिटी निर्माणलाई तीव्रता दिइएको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।
महाधिवेशन केन्द्रित अभियान देशभर सञ्चालन गरेको पार्टीले सदस्यता विस्तार, सङ्गठन निर्माण, भेला प्रशिक्षणलगायत गतिविधि सञ्चालन गर्दै आएको छ । पार्टीको विधानअनुसार तल्लो तहदेखि माथिल्लो तहसम्म निर्वाचित भएर आउनुपर्ने व्यवस्था भएकाले साङ्गठनिक गतिविधि बढेको उहाँले बताउनुभयो । पार्टी मातहतका कमिटीका अधिवेशन भइरहेका छन् । बागमती प्रदेशका पाँच जिल्लामा अधिवेशन सम्पन्न भएका छन् । पार्टीको महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा हुँदैछ ।
यसैबीच, लुम्बिनी प्रदेश कमिटीले लक्ष्मी भुसालको नेतृत्वमा ४१ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ । सङ्गठनको उपाध्यक्षमा मञ्जु कोइराला र समती चौधरी, सचिवमा विष्णुमाया थापा मगर, उपसचिवमा सरस्वती पोखरेल र कोषाध्यक्षमा पुष्पा भाटलाई चयन गरेको पार्टी सचिवालयले जनाएको छ । रासस