२०८१ पुष ९ , मंगलबार

हुम्लाको अदानचुलीका स्वास्थ्य संस्थामा बिरामीको चाप

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा शनिबारदेखि सिजन फ्लु फैलिनुका साथै बिरामीको सङ्ख्या बढ्दै गएको छ ।गाउँपालिकाको वडा नं ५ र ६ मा सिजन फ्लुका बिरामीको अत्यधिक चाप बढेर उपचारका लागि स्वास्थ्य संस्थामा आउने गरेको यहाँका स्वास्थ्यकर्मीले बताएका छन् । गाउँपालिकाको वडा नं ६ मा पर्ने लमही गाउँबाट फैलिएको सिजनल फ्लु रोकथामका लागि लौठी स्वास्थ्य चौकीमार्फत शिविर सञ्चालन भएर सामान्य रुपमा नियन्त्रणमा आए पनि सोही वडाकै पाल्स, काँखे बारीगाउँ र करगही गाउँमा नयाँ बिरामी देखापरेको लौठी स्वास्थ्य चौकीका इन्चार्ज नवराज भण्डारीले बताउनुभयो ।

स्वास्थ्य चौकीमार्फत सञ्चालन भएको शिविरमा एक सय ४९ बिरामीको उपचार गरेको उहाँले बताउनुभयो । लमहीमा नियन्त्रणमा आए पनि अन्य बस्तीमा फैलिएको इन्चार्ज भण्डारीले बताउनुभयो । नियन्त्रणका लागि आफुहरु नियमित लागि पर्नुका साथै ओपिडीबाट सेवा दिइरहेको उहाँले जानकारी दिनुभयो ।

यस्तै गाउँपालिकाको केन्द्र रहेको श्रीनगर स्वास्थ्य चौकीमा केही दिनयतादेखि बिरामीको चाप बढ्दै गए पनि एक स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् । अन्य स्वास्थ्यकर्मी तालिमका लागि स्वास्थ्य संस्था बाहिर रहेको श्रीनगर स्वास्थ्य चौकीका निमित्त इन्चार्ज प्रयोगलाल जैसीले बताउनुभयो ।

श्रीनगर स्वास्थ्य चौकीमा वडा नं ५ र ६ बाट बिरामी उपचारका लागि आउने भएकाले चाप बढेको निमित्त इन्चार्ज जैसीले बताउनुभयो । एक दिनमा ५० देखि ८० बिरामी उपचारका लागि आउने गरेको उहाँले बताउनुभयो । दैनिक ठूलो सङ्ख्यामा बिरामीको स्वास्थ्य चौकीबाट उपचार भइरहेको उहाँको भनाइ छ ।

जैसीले भन्नुभयो, “अहिले स्वास्थ्य चौकीमा औषधि प्रयाप्त मात्रा छ, रोग फैलिए पनि रोग नियन्त्रका लागि गाउँपालिकाले औषधि सबै पुर्याएको छ ।” अहिले औषधिको अभाव भने नभएको उहाँले बताउनुभयो । पालिकाभित्र रहेका अन्य स्वास्थ्य चौकीमा पनि औषधि पर्याप्त मात्रामा रहेको उहाँको भनाइ छ । श्रीनगर स्वास्थ्य चौकीमा उपचारका लागि आउने बिरामीलाई रोग अरुलाई सर्न सक्छ भनेर नियमित मास्कको प्रयोग गर्न जोड दिनुका साथै वितरणसमेत गरिएको छ ।  रासस