सुनाखरी न्युज/ काठमाडौं।
राष्ट्रिय प्रजातन्त्र पार्टीले २७ चैतमा काठमाडौंमा भएको प्रदर्शनका क्रममा प्रहरीको लाठीचार्जबाट घाइते भई उपचारका क्रममा मृत्यु भएका ठाकुरप्रसाद डाँगीलाई शहीद घोषणा गर्न माग गरेको छ ।
राप्रपाले आयोजना गरेको प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्ज गर्दा घाइते भएका बर्दियाका डाँगीको छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा सोमबार मृत्यु भएको थियो ।
प्रवक्ता मोहनकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘…नागरिकको हत्या गरिनु कायरता र लोकतन्त्रको उपहास हो । स्व. ठाकुर प्रसाद डाँगीलाई शहीद घोषणा गर्न र परिवारलाई क्षतिपूर्ति प्रदान गर्न राप्रपा सरकारसंग माग गर्दछ ।’
प्रहरीको लाठीचार्ज, पानीको फोहरा र अश्रुग्याँस प्रहारबाट चार दर्जन बढी घाइते भएकामध्ये धेरै घाइते उपचारपछि घर फर्किसके पनि जटिल शल्यक्रिया गर्नुपर्ने ६ जना अझै उपचारका क्रममा विभिन्न अस्पतालमा रहेको राप्रपाले जनाएको छ ।
डाँगीको निधनमा शोक प्रकट गर्न राप्रपाले ७७ वटै जिल्ला कार्यालयमा ३ दिन पार्टीको झण्डा झुकाउने र १३ औं दिनको पुण्यतिथिमा केन्द्रमा र सम्पूर्ण जिल्लामा शोकसभा गर्ने निर्णय गरेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।