२०८१ मंसिर १५ , शनिवार

सनराइज सहकारीका कर्मचारीद्वारा ‘आत्महत्या’

thumb

सुनाखरी न्युज/ चितवन ।भरतपुरबाट दक्षिण–पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय निर्मलकुमार महतोले बिहीबार आत्महत्या गरेका छन् । महतोको शव उनकै कोठामा फेला परेको चितवन प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले बताए । ‘सुसाइट नोट त छैन तर उनले प्रयोग गर्ने दुईवटा मोबाइलको प्राविधिक अनुसन्धान गर्नेछौं । सबै खाले अनुसन्धान अगाडि बढ्दै जाँदा तथ्य कुरा खुल्ला,’ रिजालले भने ।२०७८ मा उत्कृष्ट कर्मचारी भएका निर्मल २०७९ भदौपछि सहकारीले बचतकर्तालाई बचत फिर्ता दिन नसक्ने भएपछि समस्यामा पर्न थालेका थिए । पटक पटक बचतकर्ताहरू महतोकै घर समेत घेर्न आएका थिए । सहकारी समस्यामा परेसँगै बचतकर्ताहरू आन्दोलित हुन थालेपछि चिन्तामा थिए ।किनकि उनले बुबाको चिनजान भजाएर धेरैलाई सहकारीको बचतकर्ता बनाएका थिए ।

 

सनराइज बचत तथा ऋण सहकारी संस्था बर्दिया गुलरिया–५ का नगेन्द्रबहादुर रिमाल अध्यक्ष रहने गरी भरतपुर ३ लायन्स चोकमा कार्यालय राखेर ०७४ देखि सञ्चालन हुँदै आएको थियो ।सनराइज त्यही समूहले खोलेको सहकारी हो, जुन समूहले नवलपुरको कावासोतीमा छिपछिपे सहकारी र बर्दियामा नमस्ते बचत तथा ऋण सहकारी संस्था खोलेको थियो । तीनै जिल्लामा खोलिएका सहकारीमा योगेन्द्र पाण्डे, नरेन्द्र रिजाल र सञ्जीव महतो लगायतको समूह छन् । यो समूहले बर्दियामा सञ्चालन गरेको नमस्ते बचत तथा ऋण सहकारी संस्थामा एक समय राष्ट्रिय प्रजातन्त्र पार्टीकी समानुपातिकतर्फकी संघीय सांसद गीता बस्नेत सञ्चालक समिति सदस्य थिइन् ।

 

तीन जिल्लाका तीन सहकारीबाट बस्नेत सञ्चालक रहेको बर्दियाको गुलरियास्थित कृष्णसार रिसोर्टमा बिनाधितो झन्डै १५ करोड पेस्की तथा फर्जी कागज बनाई लगानी गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । सहकारी ठगीको यही मुद्दामा सांसद बस्नेतविरुद्ध जिल्ला अदालत नवलपुरले पक्राउ पुर्जी जारी गरिसकेको छ । तर उनी फरार छिन् ।संस्थाले चनौली र विकास चोकमा पनि शाखा खोलेको थियो । ०७९ भदौदेखि संस्थाले बचत फिर्ता दिन सकेन । समस्या बढ्दै गएपछि सोही वर्षको कात्तिकदेखि सहकारीको सबै कार्यालय बन्द भए । बचतकर्ताले सोही बेलादेखि छानबिनका लागि विभिन्न निकायमा धाएको तर कारबाही अगाडि बढेन ।