२०८१ पुष २२ , सोमवार

जेठका लागि बैंकहरूले घटाए ब्याजदर, सबैभन्दा बढी एनआईसी र एनएमबिले दिने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

जेठ महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सूची सार्वजनिक गरेका छन् । जसअनुसार वैशाखको तुलनामा बैंकहरूले निक्षेपमा दिने औसत ब्याजदर घटेको छ ।वैशाख महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर १९ वाणिज्य बैंकको औसत ७.१४ प्रतिशत रहेकोमा जेठ महिनाका लागि ७.०६ प्रतिशतमा कायम भएको छ।

सार्वजनिक सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा ७ बैंकले वैशाखकै दरलाई यथावत राखेका छन् । लक्ष्मी सनराइज, कुमारी, नेपाल, नेपाल इन्भेस्टमेन्ट मेगा, स्टान्डर्ड चार्टर्ड, हिमालयन र माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर वैशाखकै दरलाई यथावत राखेका छन् ।

त्यस्तै ९ बैंकले ब्याजदर घटाएका छन् । एभरेस्ट, नबिल, सानिमा, सिद्धार्थ, एनएमबी, सिटिजन्स, प्राइम, राष्ट्रिय वाणिज्य र एसबीआई बैंकले ब्याजदर घटाएका छन् । ३ बैंक ग्लोबल आईएमई, एनआईसी एसिया र प्रभु बैंकले भने ब्याजदर बढाएका छन् ।

जेठ महिनामा व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै ब्याज एनआईसी एसिया र एनएमबी बैंकले ७.८ प्रतिशत तोकेका छन् । व्यक्तिगत मुद्दती निक्षेपमा कुनै पनि बैंकको ब्याजदर ८ प्रतिशत पनि नपुग्ने भएको छ ।