सुनाखरी न्युज/ काठमाडौं।
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा अन्तिम फैसलाका लागि बहस जारी छ । उच्च अदालत पाटनमा मंगलबारदेखि सुरु भएको बहस बुधबार पनि हेर्दाहेर्दैमा रहेको छ ।
न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा मंगलबार ६ बजेर २० मिनेटसम्म बहस भएको थियो । न्यायाधीशद्वय बहस सक्ने हतारोमा थिए तर कानुन व्यवसायीहरू भने आफ्ना कुरा राख्नुपर्ने अडानमा देखिए । बहस नसकिएपछि मुद्दा अन्तिम समयमा हेर्दाहेर्दैमा राखियो ।
अन्तिम समयमा जाहेरवाला गौशाला–२६ का तर्फबाट कानुन व्यवसायीले बहस गरिरहेका थिए । बहस अझै लामो जाने देखि पछि न्यायाधीशहरूले इजलासबाट प्रश्न गरे, ‘विद्वानहरू यो त आज सकिएला जस्तो छैन । भोलिलाई हेर्दाहेर्दै राख्ने कि ?’
लगत्तै सन्दीपका कानुन व्यवसायीलाई पनि छलफलका लागि इजलासबाट बोलाइयो । त्यतिबेला सन्दीपका कानुन व्यवसायी सरोजराज घिमिरे उच्च अदालतको आँगनमा पुगेका थिए ।
न्यायाधीशले ‘जाहेरवालाका केही कानुन व्यवसायीको बहस बाँकी नै भयो, अनि तपाईंहरूको पनि जवाफ होला नि !’ भनेर सोधे । घिमिरेले जवाफमा आफूहरूको पनि जाहेरवालाले उठाएका केही प्रश्नमा प्रष्ट पार्नुपर्ने भएको भन्दै समय चाहिने तर्क गरे । त्यसपछि न्यायाधीशले हेर्दाहेर्दै राख्ने आदेश गरे ।