२०८१ मंसिर १४ , शुक्रवार

सभामुख घिमिरेको बलजफ्तीले संसदमा धकेलाधकेल

Screenshot 2024-05-17 084458

सुनाखरी न्युज/ काठमाडौं ।

प्रतिनिधि सभा बैठकमा बिहीबार  कांग्रेस र एमालेका सांसदहरुबीच धकेलाधकेल भएको छ । यसले सहमतिका लागि भइरहेको सम्वाद बिथालेको छ भने संसदको गतिरोध तत्काल नहट्ने संकेत देखिएको छ ।

सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने संलग्नबारे छानबिनका लागि संसदीय समिति गठनबारे भएको वार्ता सहमतिमा पुग्न नसकेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बिहीबार पनि वेल घेराउ गर्‍यो ।

 

यसअघिका बैठकमा झैं कांग्रेस सांसदहरुले नाराबाजी गरे । सभामुख देवराज घिमिरेले पनि गर्नैपर्ने कामहरु बाँकी रहेको भन्दै सांसदहरुलाई आफ्नो स्थानमा बस्न आग्रह गरे ।

अघिल्ला बैठकमा अरुमा यसरी आग्रह गर्दा नाराबाजी नरोकेपछि बैठक स्थगित हुन्थ्यो । बिहीबार सभामुखले नाराबाजीका बीच संसदको कारबाही अगाडि बढाए । विपक्षी बेञ्चमा रहेका राप्रपा र लोसपाका सांसदहरु उठेर विरोध गरे, तर रोकिएनन् । उनले विधेयक प्रमाणीकरणसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए ।

 

वेलमा रहेका कांग्रेस सांसदहरुले सभामुखतर्फ प्रश्न गर्दै चर्को नाराबाजी गरे । सभामुख पनि चर्को स्वरमै राष्ट्रपति कार्यालयबाट आएको अर्को पत्र सुनिने गरी वाचन गर्न थाले । कांग्रेस सांसदहरुले चर्को नाराबाजी गरेपछि केहीबेर रोकिए ।

सभामुख फेरि अगाडि बढे । उनले राष्ट्रपति कार्यालयबाट प्राप्त भएको मन्त्रिपरिषद हेरफेरसम्बन्धी पत्र वाचन गरे । लगत्तै उपप्रधानमन्त्री तथा गृहमन्त्रीले बोल्न समय मागेको र बोल्न दिनुपर्छ भन्ने आवाज उठेको भन्दै समय दिए ।

सभामुखले समय दिइसक्दा नसक्दै कांग्रेस सांसदहरु गृहमन्त्रीलाई रोक्न लागे भने सत्तारुढ सांसदहरु आ–आफ्नो स्थानमा उभिएर बोल्न दिनुपर्छ भनेर हुटिङ गरे ।

यसले संसदमा तनाव बढायो । गृहमन्त्रीलाई छेक्न कांग्रेसका सांसद धनराज गुरुङ सत्तापक्षको बेन्च नजिक पुगे । ‘संसदीय छानबिन समिति गठन गर’ भनेर नारा लगाइरहे । छेउमा रहोक एमाले अध्यक्ष केपी शर्मा ओली पनि आफ्नो सिटबाट उठेर ‘तपाईं यहाँ उभिने होइन, हट्नुस्’ धनराजतर्फ अघि सरे । कांग्रेस उपसभापति गुरुङले पनि ओलीतिर फर्किएर चर्को स्वरमा नारा लगाइरहे ।