२०८१ पुष ९ , मंगलबार

नेपालले लगायो भारतीय मसला ‘एमडीएच’ र ‘एभरेस्ट’ब्रान्डका चार मसलाको आयात र विक्रीमा रोक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालले भारतका २ ब्रान्डका केही मसलाको आयातमा रोक लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतीय ब्रान्ड एमडीएच र एभरेस्टका ४ प्रकारका मसलाको आयातमा रोक लगाएको हो । हङकङ र सिंगापुरले ती मसलामा हानिकारक ‘एथलिन अक्साइड’ रहेको भन्दै आयातमा रोक लगाएको छ ।

विभागले समेत हङकङको खाद्य सुरक्षा केन्द्र र सिंगापुर फुड एजेन्सीले रोक लगाएको र विभिन्न सञ्चारमाध्यममा आएको समाचारका आधारमा तत्काललाई ४ प्रकारका मसलामा रोक लगाएको जनाएको छ ।

विभागले एमडीएचको मद्रास करी पाउडर, साम्बर मसला मिक्स्ड मसला पाउडर, करी पाउडर मिक्स्ड मसला र एभरेस्ट ब्रान्डको फिस करी मसलाको आयात र बिक्रीवितरणमा रोक लगाउने निर्णय गरेको हो ।एमडीएचका उक्त मसलाहरू १०० ग्राम र एभरेस्टको ५० ग्रामको प्याकिङ रहेको छ ।

विभागले यी मसलाको आयात अनुमति तत्काल स्थगित गर्ने र आयात विन्दुमा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरूलाई सूचित गर्ने निर्णय गरेको छ । नेपालले प्रत्येक वर्ष भारतबाट खुर्सानी र मरिचमात्र झन्डै २ अर्ब रुपैयाँ बराबरको आयात गर्दै आएको छ ।