२०८१ पुष २२ , सोमवार

मौद्रिक नीति समीक्षाः बैंकहरूलाई सेयरमा लगानी गर्न प्रोत्साहन

nrb-nepal-rashtra-bank-1024×573

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सेयर तथा अन्य धितोपत्रमा लगानी गर्नका लागि प्रोत्साहनमूलक नीति बनाएको छ ।

चालु आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेयरसहितका अन्य क्षेत्रमा गरेको लगानीबाट बाहिरिनका लागि सहज नीति बनाइदिएको हो ।

 

बैंक तथा वित्तीय संस्थाहरूले १ वर्ष अवधि व्यतित भइसकेको लगानीबाट एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था समीक्षामा गरिएको छ । यो व्यवस्थाले लगानीको १ वर्ष पूरा भइसकेपछि बैंकहरूले पर्याप्त रकमको सेयर तथा अन्य लगानी बिक्री गर्न सक्ने छन् ।

यसअघिसम्म १ वर्ष व्यतित भइसकेको लगानीबाट प्राथमिक पूँजीको १ प्रतिशत मात्रै बेच्न पाइने व्यवस्था थियो । यसले गर्दा चाहेकै रकमको सेयर तथा अन्य धितोपत्र बेच्न समस्या हुँदा बैंक तथा वित्तीय संस्थाहरु लगानी गर्नका लागि नै हच्किरहेका थिए । बैंक तथा वित्तीय संस्थहरु हच्किँदा धितोपत्रको मागलाई संकुचित गराएको थियो ।

 

अब लगानी बिक्रीको सीमा नै बढाइएपछि बैंकहरुलाई सेयरमा लगानी गर्नका लागि प्रोत्साहन मिल्नेछ ।

चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल प्राथमिक पूँजी ७ खर्ब १६ अर्ब रुपैयाँ बराबर छ । सेयर, डिवेन्चर र सामुहिक लगानी कोषमा मात्रै बैंकहरुले कुल प्राथमिक पूँजीको ३० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ । हाल पर्याप्त कर्जा प्रवाह नभइरहेको अवस्थामा बैंकहरुले सेयरमा लगानी बढाउन सक्ने र यसले बजार बढ्नमा टेवा पुग्ने अनुमान गरिएको छ ।

सेयर बजारसँग सम्बन्धित अन्य विषयमा भने मौद्रिक समीक्षाले छोएको छैन । सेयर कर्जा एक व्यक्तिका लागि अधिकतम १५ करोड र संस्थालाई २० करोडको सीमा, सेयर कर्जाको जोखिमभार ठूलो कर्जामा १२५ प्रतिशत र सानोमा १०० प्रतिशतको व्यवस्थालाई यथावत राखिएको छ ।