२०८१ मंसिर १० , सोमवार

जसपा नेपालको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै

Upendra yadav

सुनाखरी न्युज/ काठमाडौं ।

आफ्नो दल छाडेका ७ जना सांसदलाई संसदीय गतिविधिमा रोक लगाउन माग गर्दै  जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज पेशी तोकिएको छ ।

जसपा नेपाल छाडेका अशोक राईसहित ७ सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदा मतदानमा र अरु संसदीय गतिविधिमा पनि रोक लगाउन रिटमा माग गर्दै अध्यक्ष यादवले आइतबार रिट दायर गरेका थिए ।

 

आफ्नो दल छाडेका सांसदले प्रतिनिधिसभा सदस्यको पद गुमाइसकेको दाबी गर्दै यादवले उनीहरुको मतबाट प्रधानमन्त्रीले विश्वासको मत पाए पनि बदर हुने जिकिर गरेका छन् ।

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेका अनुसार यो रिटमा आज सुनुवाइ हुने छ ।

 

यसअघि यादवले आफ्नो दल छाडेर गएका सांसद र नेताहरुले दर्ता गरेको नयाँ दल जनता समाजवादी पार्टी दर्ता नगर्न आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका थिए । सो रिटमा सुनुवाइ गर्दै सर्वोच्चले पार्टी दर्ता प्रक्रिया यथास्थितिमा राख्न निर्वाचन आयोगलाई आदेश दिएको थियो ।

जसपा नेपालले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् ।

जसपा नेपालले नयाँ पार्टी गठन गरेका सात सांसदलाई विश्वासको मतको प्रक्रियामा सहभागी गराउन नमिल्ने भन्दै सभामुखलाई पत्रसमेत पठाएको छ ।