२०८१ पुष ८ , सोमवार

दोलखामा सञ्चालित हाडजोर्नी शिविरबाट एक हजार एक सय बढी लाभान्वित

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

दोलखाको सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाईं स्मृति अस्पतालमा आयोजित चारदिने निःशुल्क हार्डजोर्नी सर्जिकल शिविरमा एक हजार एक सय ९५ जनाले सेवा लिएका छन् ।

रोटरी क्लब अफ काठमाडौँ वेष्ट, नेपाल अपाङ्ग सङ्घ, अर्थाेपेडिक अस्पताल जोरपाटी काठमाडाैँ, भीमेश्वर नगरपालिका र पशुपति चौलागाईं स्मृति अस्पतालको संयुक्त आयोजनामा भएको शिविरलाई मेड-सोलुसन फाउन्डेसन स्विजरल्यान्डले प्रायोजन गरेको थियो । शिविरमा वरिष्ठ हाडजोर्नी विशेषज्ञ पाँचजनाको टोलीसँगै एकजना वरिष्ठ एनेस्थेसिस्ट र पाँचजना नर्सले सेवा प्रवाह गरेका थिए ।

नेपाल अपाङ्ग सङ्घ अर्थाेपेडिक अस्पताल जोरपाटी काठमाडाैँका वरिष्ठ एनेस्थेसिस्ट चिकित्सक संयुक्त आचार्यले शिविरबाट दोलखाका विभिन्न स्थानका बिरामीहरुले सेवा लिएका बताउनुभयो ।

वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा रचित शर्माले शिविरमा ३९ जनाको निःशुल्क शल्यक्रिया गरिएको जानकारी दिनुभयो ।शिविरपछि चिकित्सकको टोलीलाई पशुपति चौलागाईं स्मृति अस्पतालका अध्यक्ष भरतनारायण प्रधानले धन्यवाद दिनुभयाे ।  रासस