२०८१ मंसिर २ , आइतवार

भौतिकमन्त्री महासेठको सम्पत्ति : सवा २ करोड नगद, ४३ तोला सुन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले मन्त्रीपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार सबैभन्दा बढी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठको सम्पत्ति रहेको छ ।

जनकपुर उपमहानगरपालिकामा ४२०० वर्गमिटर जग्गा, साँढे २ तले घर, ललितपुरको भैसेपाटीमा २ रोपनी १३ आना, २ दाम १ पैसा जग्गा र त्यसमा रहेको साढे २ तले घर रहेको छ ।

यस्तै श्रीमती जुली कुमारी महतोको नाममा धनुषा क्षिरेश्वरनाथमा ७ बिघा, ३ कट्ठा जग्गा, सिन्धुलीको कमलामाई नगरपालिकामा ४ कट्ठा जग्गा, ललितपुर महानगरपालिकामा १ रोपनी ७ आना जग्गा, जनकपुरमा ३ कट्ठा जग्गा रहेको छ । यस्तै रघुवीरको नाममा धनुषामा १ बिघा १५ कट्ठा जग्गा रहेको छ ।

यस्तै नगद तर्फ २ करोड २५ लाख रुपैयाँ बराबर नगद, ४३ तोला सुन, १.५ किलो चाँदी आफूसँग रहेको मन्त्री महासेठको सम्पत्ति विवरणमा उल्लेख छ । तीबाहेक पत्नी महतोको नाममा विभिन्न कम्पनीको ३ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।