२०८१ पुष ८ , सोमवार

भारतीय दुई ब्रान्डका ४ मसला आयातमा प्रतिबन्ध लगायो

thumb

सुनाखरी न्युज/ काठमाडौं ।

खाद्य मसलामा हानिकारक ‘एथलिन अक्साइड’ रहेको भन्दै आयातमा रोक लगाएको छ । विभिन्न सञ्चारमाध्यममा आएको समाचारका आधारमा तत्काललाई चार प्रकारका मसलामा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले समेत रोक लगाएको जनाएको छ ।स्वादका लागि प्रयोग गरिने मसलाले उल्टै हाम्रो स्वास्थ्यमा गम्भीर असर गर्यो भने हाम्रो जीवन नै समाप्त हुन सक्छ । शुद्ध मसला स्वादका लागि मात्रै होइन स्वास्थ्यका लागि पनि उत्तिकै महत्त्वपूर्ण छ ।

तर, त्यही मसला मिसावटयुक्त भयो भने त्यसले विषको काम गर्छ । विभागले एमडीएचको मद्रास करी पाउडर, साम्बर मसला मिक्स्ड मसला पाउडर, करी पाउडर मिक्स्ड मसला र एभरेस्ट ब्रान्डको फिस करी मसलाको आयात र बिक्रीवितरणमा रोक लगाउने निर्णय गरेको हो ।अहिले निकै नाम चलेका भारतीय दुई ब्रान्डका मसलाबारे उत्पादक देश मात्र होइन, नेपाललगायत ती मसला निर्यात हुँदै आएका देशमा पनि गम्भीर प्रश्न उठिरहेको छ । भारतीय कम्पनीहरू ‘एमडिएच’ ‘एभरेस्ट’ले उत्पादन गर्दै आएका मसलामा ‘एथलिन अक्साइड’ नामक क्यान्सर गराउन सक्ने रासायनिक पदार्थ ठूलो मात्रामा पाइएको भन्दै सिंगापुर र हङकङले गत महिना ती दुई मसलाको बिक्रीमा रोक लगायो । यो प्रकरण त्यतिमा मात्रै रोकिएन ।

अमेरिकाको फुड एन्ड ड्रग एडिमिनिस्ट्रेसन ९एफडिए०ले पनि ती दुई कम्पनीका उत्पादनमा विषादी मिसिएको छ कि छैन भनेर परीक्षण गरिरहेको उक्त निकायका प्रवक्ताले समाचारसंस्था रोएटर्सलाई बताएका छन् ।सिंगापुर र हङकङले भारतीय मसलाको आयातमा रोक लगाएपछि यसको गुणस्तर र खाद्य सुरक्षामा विश्वका विभिन्न मुलुकले प्रश्न उठाएका छन् । मसला उत्पादन र निर्यातका हिसाबले भारत विश्वकै अग्रणी मुलुकमध्ये एक हो । बीबीसीका अनुसार भारतले झन्डै ४ बिलियन डलर बराबरको मसला बर्सेनि निर्यात गर्छ, जुन विश्व मसला निर्यातको १२ प्रतिशत हो । नेपालले समेत भारतबाट ठूलो परिमाणमा मसला आयात गर्छ । यो आर्थिक वर्षको ९ महिनामा मात्र नेपालले भारतबाट झन्डै ८ अर्ब रुपैयाँ बराबरको विभिन्न मसला आयात गरेको छ । नेपालले प्रत्येक वर्ष भारतबाट खुर्सानी र मरिचमात्र झन्डै २ अर्ब रुपैयाँ बराबरको आयात गर्दै आएको छ ।